काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको ३२औं वार्षिक साधारण सभाले सेयरधनीलाई ३० प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ।
कम्पनीको बिहीबार काठमाडौंमा भएको साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५७ करोड रुपैयाँ लाभांश वितरणको प्रस्ताव पारित गरेको हो।
साधारण सभाले ५ जना सञ्चालक सर्वसम्मतरुपमा चयन गरेको छ। संस्थापक सेयरधनीका तर्फबाट पवन गोल्याण, शशीकान्त अग्रवाल, अक्षय गोल्याण र किरणदेवी अग्रवाल तथा साधारण सेयरधनीका तर्फबाट वसन्त नाहटा सञ्चालक चयन भएका हुन्।
पवन, शशीकान्त र अक्षय यसअघि पनि सञ्चालक थिए। स्वतन्त्र सञ्चालकमा अधिवक्ता हरिशचन्द्र सुवेदीलाई गत जेठ ३१ गते मनोनीत गरिएकामा साधारण सभाले अनुमोदन गरेको छ। सञ्चालक समितिको बिहीबार नै बसेको बैठकले पवनलाई अध्यक्ष चयन गरेको छ।
साधारण सभाले सञ्चालक समितिका सदस्यले पाउने भत्ता प्रति बैठक २० हजार रुपैयाँ तोकेको छ।