BIZMANDU
www.bizmandu.com

एन्फा अध्यक्षसहित ४ जना विरुद्ध मुद्दा, राष्ट्रघाती सम्झौता गरेको आरोप, २० हजार डलर अपचलन

२०८३ असोज २३

एन्फा अध्यक्षसहित ४ जना विरुद्ध मुद्दा, राष्ट्रघाती सम्झौता गरेको आरोप, २० हजार डलर अपचलन
एन्फा अध्यक्षसहित ४ जना विरुद्ध मुद्दा, राष्ट्रघाती सम्झौता गरेको आरोप, २० हजार डलर अपचलन


काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्वाङसहित चार जनाविरुद्ध मुद्दा दायर भएको छ।

GBIME
Tata

जिल्ला अदालत ललितपुरमा बिहीबार अध्यक्ष नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष नवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे विरुद्ध मुद्दा दायर भएको हो। पाण्डे २२ वर्षदेखि एन्फाको लेखा शाखामा कार्यरत छन्।

अध्यक्ष नेम्वाङ र महासचिव राई भने फरार छन्। उनीहरूविरुद्ध ठगी, आर्थिक अनियमितता र खेल मिलेमतोमा मुद्दा चलाइएको हो।

बहराइनमा भएको खेलमा अनियमितता भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले दुई हप्ता लगाएर अनुसन्धान गरेको थियो। बहराइन फुटबल संघबाट प्राप्त हुनुपर्ने २० हजार डलर अपचलन गरेर ठगी गरेको देखिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध ९३ लाख ९०० रुपैयाँ बिगो दाबी गरिएको छ।

त्यस्तै केल्मी ब्रान्डको सामान खरिदमा संस्थालाई हानी नोक्सानी पुर्‍याएको देखिएको प्रहरीको दाबी छ। यो प्रकरणमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने भएको छ।

एन्फाका पदाधिकारीले मन्त्रालय र राखेपको अनुमति बिना राष्ट्रघाती सम्झौता गरेको, विदेश भ्रमणमा टोली लगेको र कोटेसनमार्फत खरिद गरेको देखिएको सीआइबीले बताएको छ।

नेपाल-बहराइन खेल बहराइन सार्ने सम्बन्धी निर्णय तथा सम्झौतामा महासचिव राईको प्रत्यक्ष भूमिका देखिएको भनिएको छ।

बयानका क्रममा जोशी र पाण्डेले भने आफूहरुलाई केही जानकारी नभएको र सबै काम खरिद शाखा र सचिवालयले गरेको बताएका छन्। आफूहरुले टिप्पणी र चेकमा हस्ताक्षर मात्र गरेको भन्दै इन्कारी बयान दिएका थिए।

इन्कारी बयान दिए पनि १० लाखभन्दा माथिको खरिदमा टेण्डर नभएको, लागत अनुमानभन्दा बढी दररेट परेको अवस्थामा कमारु ट्रेडिङलाई भुक्तानी दिने प्रक्रियामा कोषाध्यक्ष र लेखा अधिकृतको भूमिका देखिएको प्रहरीले दायर गरेको मुद्दामा उल्लेख छ।

बहराइनबाट पाउनुपर्ने २० हजार डलर संस्थाको खातामा दाखिला नभएको अवस्थामा त्यसको खोजी, दाबी वा हिसाब मिलान भएको नदेखिएबाट सम्बन्धित पदाधिकारी तथा कर्मचारीहरूको जिम्मेवारी बमोजिम काम नगरेको प्रहरीको अनुसन्धानले देखाएको छ।