काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यकाबाट घर जाने यात्रुका लागि शुक्रबारदेखि सार्वजनिक बसको अग्रिम टिकट बुकिङ खुला भएको छ। असोज २३ गतेदेखि लामो तथा मध्यम दूरीका बसको अग्रिम टिकट काट्न सकिने व्यवस्था गरिएको
हो।
दसैंको समयमा यात्रुको चाप बढ्ने भएकाले टिकट बुकिङ खुल्नुअघि नै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा यात्रुको लाइन लागेको छ। बझाङ, बाजुरा र धनगढीलगायतका गन्तव्यमा जाने यात्रु अघिल्लो रातिदेखि नै टिकट लिन पुगेका छन्।

यात्रुको चाप व्यवस्थापन गर्न नयाँ बसपार्क संचालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिले १५ वटा टिकट काउन्टर थप गरेको छ। टिकट वितरणलाई व्यवस्थित बनाउन सुरक्षा प्रबन्धसमेत मिलाइएको जनाइएको छ।
यात्रुले नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, चाबहिललगायत स्थानका टिकट काउन्टरबाट टिकट लिन सक्नेछन्। अनलाइन माध्यमबाट पनि बसको टिकट बुक गर्न सकिने व्यवस्था छ।

दसैंका बेला टिकटमा तोकिएभन्दा बढी भाडा लिने वा टिकटमा कालोबजारी गर्ने समस्या हुन सक्ने भएकाले यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरिएको छ।
बढी भाडा लिएको वा टिकटमा अनियमितता भएको पाइएमा यात्रु सहायता कक्ष वा ट्राफिक प्रहरीको १०० नम्बरमा जानकारी गराउन सकिनेछ।
यात्रुहरुले अनलाइनबाट पनि दसैंको अग्रिम टिकट बुकिङ गर्न सक्नेछन्।

अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकम जस्ता प्लटफर्मबाट पनि दसैंको अग्रिम टिकट बुकिङ गर्न सकिनेछ। अहिले नेपालमा बससेवाबाट सबै रुटको टिकेटहरु उपलब्ध भएका छन्।
सम्बन्धित समाचार : बाढीपहिरोले बिगारेका सडक धमाधम बनाइँदै, दसैंमा यात्रा गर्नका लागि राजमार्ग कति तयार?






