BIZMANDU
www.bizmandu.com

पदाधिकारीमा देउवा र शेखर क्याम्पका ११ जनालाई समेट्ने गगन-विश्वको तयारी

२०८३ असोज २२

पदाधिकारीमा देउवा र शेखर क्याम्पका ११ जनालाई समेट्ने गगन-विश्वको तयारी
काङ्ग्रेस महाधिवेशनको ड्रोन दृश्य काठमाडौँ, १८ असोजः नेपाली काङ्ग्रेसको आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको महाधिवेशन स्थलको ड्रोनबाट लिइएको दृश्य । तस्बिरः गोपाल दाहाल÷रासस


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापा र वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले १५औं महाधिवेशनमा संस्थापनइतरका नेताहरूलाई पनि समेट्ने प्रयास जारी राखेका छन्। यही रस्साकस्सीका कारण बिहीबार १० बजे गर्ने भनिएको मतदान सर्दै शुक्रबार बिहान धकेलिएको छ।

GBIME
Tata

संस्थापनइतरबाट विशेष महाधिवेशन हुँदै आफ्नो पक्षमा आएका नेताहरूलाई व्यवस्थापन गर्न गगन-विश्वले पदाधिकारी १४ बाट बढाएर २५ पुर्‍याएका छन्। यही अनुसार संस्थापनइतरमा रहेका पूर्व सभापति शेरबहादुर देउवा र डा शेखर कोइराला समूहबाट आएका नेताहरूलाई गगन-विश्वलेले व्यवस्थापन गर्ने नीति लिएका हुन्।

यसरी व्यवस्थापन गरिएको पदमा दुई उपसभापति खुला, दुई महामन्त्री, ७ सहमहामन्त्री रहेको बताइएको छ। यसमा पनि देउवा क्याम्पलाई एक उपसभापति, एक महामन्त्री, ५ सहमहामन्त्रीमा एडजस्ट गर्ने तयारी रहेको छ। यता शेखर क्याम्पका नेताहरूलाई एक उपसभापति, एक महामन्त्री र २ सहमहामन्त्री गरी ४ जनालाई पदाधिकारीमा एडजस्ट गर्ने तयारी रहेको छ।

यही अनुसार नै बन्द सत्रबाट विधान पारित गरिएको गगन निकट नेताहरू बताउँछन्। ‘विशेषमा आउनुभएका दुई उपसभापति सुरक्षित भइसक्नुभयो। खुला दुईमा एक देउवा गुटको र अर्को शेखर गुटको एडजस्ट गर्ने तयारी छ,’ एक नेताले भने। यसमा गोविन्द भट्टराई र डा चन्द्र भण्डारीको सम्भावना रहेको ती नेताले बताए। भट्टराई देउवा समूहका नेता हुन् भने भण्डारी शेखर समूहका। यसै कारण देवराज चालिसे र डा मीनेन्द्र रिजाललाई उपसभापतिको उम्मेदवारी फिर्ता गर्न लगाइसकेका छन्।

खुला उपसभापतिमा धनराज गुरुङ, मधु आचार्य, दिपक गिरी, चन्द्रमोहन यादव र सुरेन्द्र पाण्डेको पनि उम्मेदवारी परेको छ।

समावेशी उपसभापति आफू निकटकै नेतालाई राख्ने गगन-विश्वको तयारी छ। यसमा व्यवसायी विनोद चौधरीको प्रबल सम्भावना रहेको नेताहरू बताउँछन्। यो क्लस्टरमा जीवन परियारदेखि फरमुल्लाह मन्सुर पनि प्रतिस्पर्धामा छन्। यद्यपि विशेष महाधिवेशनलाई सफल पार्न व्यवसायी चौधरीले गगन-विश्वलाई साथ दिएका थिए। यसै कारण पनि चौधरीलाई यो पदमा जित निकाल्न सहज हुने नेताहरू बताउँछन्।

तीन महामन्त्रीमा एक महिला महामन्त्री देउवा क्याम्पबाट आएकी महालक्ष्मी उपाध्याय डिनाका लागि नै तयार पारिएको विश्वप्रकाशका सचिवालयका एक सदस्यले बताए। ‘महिला महामन्त्री डिना दिदीकै लागि क्रिएट गरिएको हो। यद्यपि यो पदमा डिला संग्रौला र रिता खनालको उम्मेदवारीले भीडन्त रोचक हुने देखिएको छ,’ सचिवालयका ती सदस्यले बताए।

दुई खुला महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे दोहोरिन चाहेका छन्। तर दुई मध्ये एक महामन्त्री संस्थापनइतरलाई दिने गगन-विश्वको योजना देखिन्छ। त्यसैले गगन- विश्व र पुष्पा भुसालको पद पक्का हुँदा पनि महामन्त्रीमा थप ६ जनाको उम्मेदवारी परेको छ। यसले महामन्त्रीद्वय पौडेल र घिमिरे डेन्जर जोनमा परेका छन्। ‘आफूहरू सेफ जोनमा बसेर विशेष महाधिवेशनमा साथ दिनेलाई साइड लगाउन पाइँदैन,’ पौडेल र घिमिरेले अहिले गगन-विश्वलाई चेतावनी दिइरहेका छन्। यही कारण पनि मतदानमा ढिलाइ भइरहेको नेताहरू बताउँछन्। ‘बाहिर प्राविधिक भनिएको छ। तर यहाँ गगन विश्वले अप्ठेरोमा आफूलाई साथ दिएका दुई महामन्त्रीलाई अट्याक गरिरहेका छन्। यसले गर्दा लफडा मिलाउन चुनाव सरेको हो,’ एक नेताले भने।

महामन्त्रीमा गगन-विश्वले डा सुनिल शर्मा, उदय शमशेर राणा र नैनसिंह महरमध्येबाट दुई जना चुनिएर आओस् भन्ने देखिएको ती नेताले बताए। यसो भएमा देउवा समूह र शेखर समूहबाट आएका नेता एडजस्ट हुने र पार्टी एकताको सन्देश जाने गगन-विश्वको बुझाइ छ। बुधबार बन्द सत्रको समापन सत्रमा सभापति थापाले पार्टीमा गुट सकिएको बताएका थिए। ‘०७४, ०३६, देउवा समूह, कोइराला समूह, पौडेल समूह, विशेष, न विशेष आजदेखि सबै सकियो,’ थापाले भनेका थिए, ‘फिनिस्ड। यो अधिवेशनको सबैभन्दा ठूलो उपलब्धिमध्येको उपलब्धि यही हो।’

यसरी नै सहमहामन्त्रीमा देउवा समूहबाट प्रत्यक्षमा ५ जनालाई जिताउने र एक जना मनोनीत गर्ने तयारी गगन-विश्वको छ। पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा देउवा समूहका जीवनबहादुर शाही जित्ने पक्कापक्की भइसकेको बताइएको छ। उनलाई जिताउन गगन-विश्वले फिल्मकर्मी मीन भामलाई उम्मेदवारी फिर्ता गर्न लगाइसकेका छन्।

पछिल्लो चरणमा देउवा समूहबाट संस्थापन प्रवेश गरेका मीनबहादुर विश्वकर्मालाई सह-महामन्त्रीमा मनोनीत गर्ने गगन-विश्वको तयारी रहेको छ। अघिल्लो कार्यसमितिमा प्रचार विभागका संयोजक रहेका विश्वकर्मा केही दिन अघिसम्म चुनदेवीको प्रचार विभाग प्रमुख थिए। ‘मीन दाइलाई सहमहामन्त्रीमा मनोनीत गर्ने तयारी छ। उहाँले कुनै पदमा उम्मेदवारी नदिनुको कारण यही हो,’ गगन निकट एक महाधिवेशन प्रतिनिधिले भने।

यता शेखर समूहबाट सहमहामन्त्रीमा एक जनालाई जिताउने र अर्को एक जनालाई मनोनीत गर्ने तयारी गगन-विश्वले गरेका छन्। यसै गरी भीष्मराज आङ्देम्बे, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, ईश्वरी न्यौपानेलाई पनि केन्द्रीय समितिमा समेट्ने वचन दिएकाले उनीहरूले महाधिवेशनमा उम्मेदवारी दिएका छैनन्। केन्द्रीय सदस्यमा भने अधिकांश उम्मेदवार गगन-विश्व समूहकै छन्। देउवाको साथ छाडेका इन्द्रबहादुर बानियाँ, अनिल रुङ्गटा, गणेश लामा, तीर्थ लामालगायतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

महाधिवेशनमा उनीहरूको नतिजा सुखद नभए ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई दिइएको छ। यहीबाट देउवा र शेखर समूहका नेताहरूलाई केन्द्रीय समितिमा व्यवस्थापन गर्ने तयारी गगन-विश्वले गरेको बताइएको छ।