काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार एक्लैको प्रयासबाट सम्भवन नहुने भन्दै राज्य, निजी क्षेत्र र समग्र समाजको साझा संकल्प आवश्यक भएको बताएका छन्।
उनले बिहीबार आफूलाई भेट्न शीतल निवासमा उपस्थित भएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पदाधिकारी तथा सदस्यसँग समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताए।
राष्ट्रपतिले देशको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकतामा जोड दिए। उनले सरकारले लगानीको सुरक्षा गर्नुपर्ने पनि बताए।
‘सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ भने निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्छ। यी दुई पक्षबीचको विश्वास र सहकार्यले नै आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्छ भन्ने म ठान्दछु,’ उनले भने।
राष्ट्रपति पौडेलले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताए।
‘जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्न आवश्यक छ। विशेषगरी देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु हाम्रो साझा दायित्व हो,’ उनले भने।
राष्ट्रपति पौडेलले डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा एफएनसीसीआईलाई उसको राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पुर्याउन आग्रह गरे। उनले भोटेकोशी विपद्मा परेकाहरुको राहतका लागि एफएनसीसीआईले लिएको तत्परताको प्रशंसा गरेका थिए।