BIZMANDU
www.bizmandu.com

चोलेन्द्रका प्रिय पात्रहरु धमाधम छानबिनमा तानिँदा सर्वोच्चमा बढ्दैछ कम्पन

२०८३ असोज २१

चोलेन्द्रका प्रिय पात्रहरु धमाधम छानबिनमा तानिँदा सर्वोच्चमा बढ्दैछ कम्पन
चोलेन्द्रका प्रिय पात्रहरु धमाधम छानबिनमा तानिँदा सर्वोच्चमा बढ्दैछ कम्पन


काठमाडौं। अदालतमा विचाराधीन मुद्दामा अस्वाभाविक चासो राखेको समेत आरोपमा पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउपछि सर्वोच्चका केही न्यायाधीश शंकाको घेरामा छन्। चालेन्द्रले नियुक्त गरेका, हिमचिममा रहेका मात्र हैनन् अन्य न्यायाधीश पनि चिन्तित बनेको हुन्।

GBIME
Tata

चोलेन्द्र निकट व्यक्तिहरूका घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापासँगै अन्योलमा थप बढेको सर्वोच्च स्रोत बताउँछ।

चोलेन्द्र प्रकरण लम्बिँदै जाँदा बुधबार विभागले पूर्व न्यायाधीश समेतको घरमा छापा मारेपछि सर्वोच्चभित्र न्यायाधीशहरूमा थप मौनता बढेको छ। विभागले बुधबार घुस लेनदेनको आरोप लागेर बर्खास्त भएका उच्च अदालतमा तत्कालीन न्यायाधीश नवराज थपलिया र सर्वोच्चमा सूचना प्रविधि विज्ञका रूपमा काम गरेका दीपक तिमिल्सिनाको घरमा छापा मारेपछि न्यायाधीशहरू अन्योलता बढेको स्रोत बताउँछ।

विभागले बुधबार आफूलाई सञ्‍चारकर्मी भनेर चिनाउन नारायण प्रसाद दाहालको घरमा समेत छापा मारेको छ।

थपलिया न्यायाधीश भएर जति बदनाम छन् त्सस्तै २०६३ मा सर्वोच्चमा सूचना प्रविधि विज्ञका रूपमा नियुक्ति पाएका तिमिल्सिना विवादित छन्। नियुक्ति यता कुनै न कुनै रूपमा उनी न्यायालयमा जोडिएका छन् र विवादको घेरामा समेत छन्।

रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश भएपछिको केही समय राजीनामा दिएका उनलाई रामकुमार प्रसाद साह प्रधानन्यायाधीश भएसँगै पुनः अदालत ल्याइएको थियो।

चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश भएपछि उनको हिमचिम मात्र बढेको थिएन प्रिय पात्रका रूपमा उनलाई चिनिने गरिएको थियो।

विभागको छापाको क्रममा बुधबार पूर्व न्यायाधीश थपलियाले आफूलाई छानबिन गर्ने विभागको अधिकार नभएको टोलीसमक्ष जिकिर नै गरेका थिए। विभागको टोलीले भने छापा गर्न नमिल्ने जिकिर अस्वीकार गर्दै कुनै हक हनन भएमा अदालत जान सुझाएका थिए।

विभागको टोलीले थपलियालाई ‘तपाईँ त न्यायालयको प्रिय पात्र हामीले गलत गरे एउटा आदेश ल्याइहाल्नु हुन्छ नि’ भन्ने जवाफ समेत दिएको थियो।

चालेन्द्र प्रकरणसँग जोडिएका पात्र इनम सापकोटा र सापकोटासँग नियमित सञ्चार सम्पर्कमा रहेका थपलियालगायतका पात्रमाथि छानबिन सुरु भएपछि त्यसको परकम्प न्यायालयसम्म प्रवेश गरेको हो।

विचाराधीन विवादमा अनावश्यक चासो राखेको आरोप चोलेन्द्रमाथि लागेपछि केही न्यायाधीशहरू भने आफूहरूमाथि अनावश्यक त्रास सिर्जना गरेको बताउने गरेका छन्। जबरा पक्राउपछि सर्वोच्चले जारी गरेको वक्तव्यमा समेत उक्त विषयमा प्रस्ट संकेत गरिएको छ।

‘हामीले आफूले विवेकले देखेको काम गरेका छौँ। मुद्दा हेरेकै आधारमा कोही कसैले हाम्रो नाम लिएर बदनाम गर्छ भने के भन्ने त’, उक्त प्रकरणमा आदेश गर्ने न्यायाधीशहरुले भन्ने गरेको स्रोत बताउँछ।

बुधबार विभागले छापा मारेका थपलिया र तिमिल्सिनालाई चोलेन्द्र निकट मानिन्छ। थपलियालाई चोलेन्द्रले नै न्यायाधीश बनाएका थिए। शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा तिमिल्सिनालाई ६ महिने मन्त्री बनाउन माग समेत गरेका थिए।

पछिल्लो समय प्रधानन्यायाधीश नियुक्तिमा चोलेन्द्रको भूमिका रहेको दाबी समेत गर्ने गरिएको छ।

थपलियाले आफूलाई न्यायाधीशमा पुनर्बहाली माग गरेर दायर गरेको मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ।

संवैधानिक इजलास गठन पुनः विवादमा

सर्वोच्चमा संवैधानिक इजलास गठन विवाद पुनः चर्किएको छ। चोलेन्द्र शमशेर नै प्रधानन्यायाधीश हुँदा लामो समय विवादित बनेको उक्त प्रकरण उनकै उत्तराधिकारी भनिएका शर्मा प्रधानन्यायाधीश हुँदा पुनः चर्किएको हो।

बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलले इजलासमा बस्न इन्कार नै गरे। जस कारण संवैधानिक इजलास बस्न सकेन।

इजलास नै बस्न नसकेपछि प्रधानन्यायाधीश शर्माले भने बार एसोसिएसन र न्यायाधीशहरूको रायका आधारमा चाँडो विवाद सुल्झाउने न्यायाधीशहरूसँग बताएका छन्।

नेपाल बार एसोसिएसनले संवैधानिक इजलास वरिष्ठता वा गोला प्रणालीमध्ये एकबाट गठन गर्न पटक पटक माग गर्दै आएको छ।