BIZMANDU
www.bizmandu.com

गगनले सम्झिए देउवाको योगदान, भने- अब अदालतको च्याप्टर क्लोज गरेर आउनुस्

२०८३ असोज २१

गगनले सम्झिए देउवाको योगदान, भने- अब अदालतको च्याप्टर क्लोज गरेर आउनुस्
गगनले सम्झिए देउवाको योगदान, भने- अब अदालतको च्याप्टर क्लोज गरेर आउनुस्


काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसमा शेरबहादुर देउवाले गरेको योगदानलाई बिर्सन नसक्ने बताएका छन्। पार्टीको १५औँ महाधिवेशन अन्तर्गत बन्दसत्र समापन कार्यक्रममा बोल्दै सभापति थापाले देउवाको अनुपस्थिति नमिठो लागेकोसमेत बताए।

GBIME
Tata

थापाले अरु नेताको पनि उतिकै योगदान रहे पनि १५औं महाधिवेशनमा एकै मञ्चमा देख्न नपाएकोमा मिठो नलागेको बताए। ‘शेरबहादुर देउवाले लामो योगदान गर्नु भएको छ। अरु नेताहरुको योगदान छ। त्यसैले मिठो लागेको छैन,’ सभापति थापाले भने।

अहिले देउवा पक्ष सर्वोच्च अदालतबाट आफ्नो पक्षले पार्टीको आधिकारिता पाउने पर्खाइमा छ। तर, थापाले अब अदालतको च्याप्टर क्लोज गर्नुपर्ने बेला भइसकेको बताए। प्रतिनिधि सभा विघटन पछि चुनावबाट नयाँ सरकार बनिसकेको अवस्थामा तत्कालीन प्रतिनिधि सभा पुनर्स्थापना हुन नसक्ने उल्लेख गर्दै थापाले भने, ‘नेपाली कांग्रेसको वैधानिकताबारे संवैधानिक इजलासमा बहस गर्नुपर्छ भन्ने अर्को निवेदनलाई हिजो फेरि अर्को दरपीठ गरिदियो। यो लाग्छ आठौंपटक भएको दरपीठ। अदालत धाउने काम बन्द गर्नुस्। यो समयको बर्बादीमात्रै हो।’

सभापति थापाले कांग्रेसमा सबै गुट सकिएको घोषणासमेत गरे। ‘विशेष न विशेष, कोइराला-पौडेल सबै गुट सकियो। कुनै समूह छैन। आजदेखि सबै सकियो गुट,’ थापाले भने।

उनले महाधिवेशनपछि कांग्रेसलाई गुटगत आधारमा नभई एउटै पार्टीका रूपमा अघि बढाउने संकेत गरे। पार्टीभित्र लामो समयदेखि रहेका समूह र विभाजनभन्दा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनको भनाइ छ।