काठमाडौं। दसैंका लागि मुस्ताङबाट करिब साढे १२ हजार च्याङ्ग्रा बजारमा ल्याइने भएको छ। मुस्ताङबाट बुधबारसम्म ९ हजार भन्दा बढी च्याङ्ग्रा बजारमा झारिएको छ।
मुस्ताङका ५ गाउँपालिकामा पालिएका च्याङ्ग्रामध्ये साढे १२ हजार बिक्रीका लागि तयार भएको मुस्ताङस्थित भेटेनरी अस्पताल तथा पशु सेवा केन्द्रले जनाएको छ।
केन्द्रका प्रमुख डा. लालमणि अर्यालले व्यापारीहरुले दसैंका लागि हालसम्म साढे ९ हजार च्याङ्ग्रा मुस्ताङबाट झारिसकेको जानकारी दिए। ‘दसैंका लागि च्याङ्ग्रा बजारमा ल्याउन समस्या छैन। व्यापारीले साढे ९ हजार च्याङ्ग्रा मुस्ताङबाट झारिसकेका छन्,’ उनले भने।
गत वर्षको दसैंमा मुस्ताङबाट करिब १५ हजार च्याङ्ग्रा बजारमा ल्याइएको थियो। यसपटक भोटेकोशी बाढीले निम्त्याएको विपद्का कारण मासुको खपत कम हुने अनुमानमा व्यापारीले आपूर्ति घटाउन लागेका हुन्।
अर्यालका अनुसार यसपालि मुस्ताङमै च्याङ्ग्राको मूल्य प्रति गोटा ५० हजार रुपैयाँ तोकिएको छ।