BIZMANDU
www.bizmandu.com

चोलेन्द्र प्रकरणमा प्रधानमन्त्री कार्यालयमा राति बनेको त्यो रणनीति, हाइ प्रोफाइलको घरमा धमाधम छापा

२०८३ असोज २१

चोलेन्द्र प्रकरणमा प्रधानमन्त्री कार्यालयमा राति बनेको त्यो रणनीति, हाइ प्रोफाइलको घरमा धमाधम छापा
चोलेन्द्र प्रकरणमा प्रधानमन्त्री कार्यालयमा राति बनेको त्यो रणनीति, हाइ प्रोफाइलको घरमा धमाधम छापा


काठमाडौं। प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान र उनीबाट संकलित प्रमाणबाट अदालतमा विचाराधीन मुद्दाको सेटिङमा देशका हाइ प्रोफाइलको संलग्नता खुलेको छ।

GBIME
Tata

सापकोटाको बयानबाट मुद्दामा सेटिङ गरेर न्यायालयदेखि राजनीतिसम्म ठूलै धक्का दिने योजनामा हाइ प्रोफाइलको संलग्नता खुलेको हो।

यही विषयलाई लिएर प्रधानमन्त्री कार्यालयमा मंगलबार रातिसम्म बैठक बसेको थियो। त्यही बैठकमा तयार पारिएको रणनीति अनुसार सम्पत्ति शुद्धीकरण अनुन्धान विभागले बुधबार हाइप्रोफाइलको घरमा छापा हानेको हो।

सर्जिकल स्ट्राइकले मुलुकमा ठूलै तरंग ल्याउने भए पनि न्यायालयदेखि राजनीतिसम्म सफा गर्नुपर्ने निष्कर्षमा प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालय पुगेको हो।

‘यो कारबाहीले देशमा भूकम्प ल्याउला तर यसरी खुलमखुला छुट दिनु हुन्न,’ स्रोतले भन्यो, ‘प्रहरीको अधिकार क्षेत्रले नभ्याउने र मुद्दा कमजोर हुने देखिएपछि विभागलाई सक्रिय पारिएको हो।’

छलफलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की समेत सहभागी थिए।

आफूले अनुसन्धान गर्ने अधिकार पाएपछि विभागले रातिबाट नै पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका भाइ प्रभु शमशेर, उच्च अदालतबाट बर्खास्त भएका पूर्वन्यायाधीश नवराज थपलिया, दीपक तिमिल्सिना, नारायण दाहाल र नवीन बस्नेतको घरमा निगरानी राखिसकेको थियो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र यसअघि असोज १० गते पक्राउ परेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मोबाइल नियन्त्रणमा लिएर सूचना लिएपछि राणालाई आफन्तको जिम्मा लगाएको थियो। त्यही मोबाइलको सम्पर्क केलाउँदै जाँदा चोलेन्द्रसँग सापकोटाको कनेक्सन देखिएको थियो।

विभागले चोलेन्द्र पक्राउ परेको पर्सिपल्ट उनका भाइ प्रभुलाई बयानका लागि बोलाएको थियो।

प्रभुलाई सम्पत्तिको स्रोत देखाउन भनिएको स्रोतले बतायो। स्रोतका अनुसार चोलेन्द्र प्रधानन्यायाधीश हुँदा प्रभु मुद्दा मामिला मिलाउन सक्रिय हुने गरेका थिए।

सर्वोच्च अदालतमा गत जेठमा नेतृत्व परिवर्तन भएपछि उनै प्रभु फेरि सक्रिय भएका थिए। स्रोतका अनुसार मुद्दा मिलाउनका लागि भनेर पछिल्ला केही दिनमा पैसा र जग्गासम्म उनका नाममा आएको आशंका अनुसन्धान अधिकृतहरुले गरेका छन्।

स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसँग अरु हाइ प्रोफाइल व्यापारीदेखि पूर्वराजनीतिज्ञसम्मको समेत कनेक्सन भेटिएको छ।

सापकोटाको खातामा ठूलो रकम पठाउने केही व्यापारी पनि निगरानीमा छन्। त्यही आधारमा विभागले ती व्यक्तिलाई समेत निगरानीमा राखेको छ। उनीहरुमाथि कारबाहीका लागि प्रहरी महानिरीक्षक कार्कीले भरतपुर जाने कार्यक्रम स्थगित गरेका छन्। भरतपुरमा बुधबार प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१८०औं समूहको दीक्षान्त समारोह थियो।