काठमाडौं। कामना सेवा विकास बैंक र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)बीच व्यावसायिक क्षमता अभिवृद्धि तालिम सञ्चालन सम्बन्धी सम्झौता भएको छ।
बैंक र एफएनसीसीआईबीच सातै प्रदेशमा साना तथा मझौला व्यवसायीलाई व्यवसायिक क्षमता अभिवृद्धि तालिम दिने सम्झौता भएको हो।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाल र एफएनसीसीआईका महानिर्देशक डा.गोपाल तिवारीले हस्ताक्षर गरेका छन्। सम्झौतापत्रमा हस्ताक्षरका क्रममा एफएनसीसीआईका अध्यक्ष अन्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य लगायत पदाधिकारी उपस्थित थिए।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दाहालले उद्योगी व्यवसायीलाई वित्तीय विवरण तयार गर्न र वित्तीय अनुपालना कायम गर्नका लागि तालिम सञ्चालन गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्ने बताए। यसले उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि हुने बैंकको विश्वास छ।