काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ट्रान्जिसनल सेल्टर निर्माण गर्न इच्छुक संस्थासँग प्रस्ताव मागेको छ।
रसुवा, नुवाकोट र धादिङका प्रभावित परिवारका लागि यस्ता अस्थायी आवास निर्माण गर्न प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको हो।
गत भदौ १० गतेको रसुवाको भोटेकोशी बाढीबाट तीन जिल्लाका विभिन्न स्थानीय तह प्रभावित भएका थिए। प्रभावित परिवारका लागि सहरी विकास तथा भवन निर्माण विभागबाट स्वीकृत मापदण्डअनुसार ट्रान्जिसनल सेल्टर निर्माण गरिने जनाइएको छ।
प्राधिकरणले इच्छुक संघसंस्थालाई सहरी विकास तथा भवन निर्माण विभाग र स्थानीय तहसँग समन्वय गरी काम गर्न भनेको छ। इच्छुक संस्थाले आवश्यक विवरण खुलाएर सात दिनभित्र प्राधिकरणमा प्रस्ताव पेस गर्नुपर्नेछ।
प्रस्तावमा निर्माण गर्न चाहेको ट्रान्जिसनल सेल्टरको संख्या स्पष्ट खुलाउनुपर्ने उल्लेख छ। त्यसैगरी सेल्टर निर्माण गर्ने स्थान र सम्बन्धित स्थानीय तहको नामसमेत उल्लेख गर्नुपर्नेछ।
संस्थाले सेल्टर निर्माण सुरु गर्ने अनुमानित समय र सम्पन्न गर्ने समयसीमा पनि खुलाउनुपर्ने बताइएको छ। यसका लागि समयसीमासहितको कार्ययोजना प्रस्तावसँगै पेस गर्नुपर्नेछ।
बाढी प्रभावित क्षेत्रमा सेल्टर निर्माणका लागि यसअघि कुनै सम्झौता भएको भए त्यसको विवरणसमेत खुलाउनुपर्ने सूचनामा उल्लेख छ। प्राधिकरणले इच्छुक संघसंस्थालाई आवश्यक विवरणसहित प्रस्ताव पेस गर्न आग्रह गरेको छ।