काठमाडौं। कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवार दिनेहरूको सूचीमा उद्योगीसमेत लर्को लागेको देखिन्छ। मंगलबार दिनभर भएको मनोनयनमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उद्योगीको उम्मेदवारी परेको छ।
निर्वाचन समितिका अनुसार उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी परेको छ। समावेशीतर्फबाट उपसभापतिमा उम्मेदवारी दिएका उनी चौधरी ग्रुपका अध्यक्षसमेत हुन्। चौधरीको उद्योग, बैंक, होटल, ऊर्जासहित विभिन्न व्यवसायमा लगानी छ। गगन थापाको नेतृत्वलाई सघाउँदै देशलाई समुन्नत बनाउन आफू पार्टीको उम्मेदवार बनेको चौधरीले बताए। ‘विकासको खाकालाई कार्यान्वयनमा लैजान र पार्टीलाई सहयोग गर्न मैले उम्मेदवारी दिएको हुँ,’ चौधरीले भने।

सभापतिपछि सबैभन्दा आकर्षक पद मानिएको महामन्त्री पदमा डा सुनिल शर्माको उम्मेदवारी परेको छ। डा. सुनिल स्वास्थ्य तथा शिक्षा क्षेत्रका व्यवसायी हुन्। उनी केएमसी अस्पताल तथा कलेजका सञ्चालक हुन्। शेखर कोइराला निकट मानिने शर्मा कांग्रेसलाई एक बनाउन भन्दै संस्थापनमा खुलेका हुन्।

कांग्रेसलाई थप गतिशील, सशक्त बनाउन आफूले उम्मेदवारी दिएको शर्मा बताउँछन्। ‘कांग्रेसको शक्ति काठमाडौंका बैठक र पार्टी कार्यालयमा होइन, गाउँको नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी, युवा र प्रत्येक मतदातासँगको सम्बन्धमा छ। महामन्त्रीका रूपमा कांग्रेसलाई जनतासँग प्रत्यक्ष जोड्ने, सुन्ने र जनताको समस्या पार्टीको राजनीतिक एजेन्डा बनाउने संगठन निर्माण गर्न चाहन्छु,’ शर्माले भने।
यता पूर्वसभापति शेरबहादुर देउवा निकट मानिने बहादुरसिंह लामाले सहमहामन्त्री (आदिवासी जनजाति) तर्फ उम्मेदवारी दिएका छन्। बागमतीका पूर्वमुख्यमन्त्री लामा निर्माण व्यवसायी हुन्। हिम्दुङ एन्ड थोकर कन्स्ट्रक्सनसँग आबद्ध/संस्थापक उनी विशेष महाधिवेशनमा सहमहामन्त्री बनेका थिए।

प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले सहमहामन्त्री (अल्पसंख्यक) तर्फ उम्मेदवारी दिएका छन्। ३३ वर्षीय गौचन अघिल्लो निर्वाचनमा पनि मुस्ताङबाट विजयी भएका थिए। पर्यटन व्यवसायी उनको योगेश त्रिथुंगा ट्राभल र कालोपानी गेस्ट हाउसका सञ्चालक हुन्। योगेश मुस्ताङ कांग्रेस सभापति रोमी गौचन थकालीका छोरा हुन्।
यसै गरी सहमहामन्त्री थारु क्लस्टरतर्फ तेजुलाल चौधरीले उम्मेदवारी दिएका छन्। पूर्व शिक्षामन्त्रीसमेत रहेका चौधरीको कलेज र मेडिकल क्षेत्रमा लगानी छ। ललितपुरको नाइटिङ्गेल कलेज, निदान अस्पताललगायतमा लगानी रहेको उनी डा शेखर कोइराला समूहबाट संस्थापनमा प्रवेश गरेका हुन्।
सहमहामन्त्री खस आर्य क्लस्टरतर्फ उम्मेदवारी दिएका रमेश धमला पर्यटन व्यवसायी हुन्।
केन्द्रीय सदस्यमा अनिल रुंगटादेखि मोहन आचार्यसम्मले उम्मेदवारी दिएका छन्।
कांग्रेस प्रमुख सचेतकसमेत रहेकी बासना थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। पर्यटन व्यवसायी उनी फागुन २१ को निर्वाचनमा दैलेख १ बाट निर्वाचित हुन्। कुरिअर तथा कार्गाे व्यवसायी प्रकाशसिंह कार्कीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

देउवा निकट मानिने व्यवसायी अनिलकुमार रुंगटाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। रुंगटा स्टिल, फलाम तथा सिमेन्ट उद्योगमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय छन्। उनी जगदम्बा इन्टरप्राइजेज प्रालिका निर्देशक हुन्। रुंगटा सम्राट सिमेन्ट कम्पनीका अध्यक्षसमेत हुन्।

झापाका चिया व्यवसायी छत्रबहादुर गिरीले पनि खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। चितवनका व्यवसायी वासु ढुंगानाले खस आर्यतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। ढुंगाना पर्यटन तथा जैविक विविधताको क्षेत्रमा सक्रिय छन्।
गण्डकी प्रदेश खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका खुमाप्रसाद अर्याल चार्टर्ड एकाउन्टेन्ट हुन्। भैरहवा मेडिकल कलेज (यूसीएमएस), गण्डकी मेडिकल कलेज पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज नेपालगञ्ज तथा सञ्जीवनी मेडिकल कलेज दाङलगायतका संस्थाहरूमा उनी प्रमुख लगानीकर्ता छन्। अर्यालले जलविद्युत् तथा अन्य उत्पादनमूलक क्षेत्रमा समेत लगानी विस्तार गरेका छन्। अर्यालले जनकपुरमा नेपालकै पहिलो अत्याधुनिक लेयर्स फार्म सञ्चालन गरेका छन्।

नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहले पनि खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। यसै गरी महाधिवेशनमा भोजन व्यवस्थापन समितिको संयोजकसमेत रहेका तिलक रानाभाटले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। वैदेशिक रोजगार व्यवसायी तथा गार्मेन्ट उद्योगमा उनको लगानी छ।
पाँचथरकी शान्ता बास्कोटाले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन्। बास्कोटा कञ्चनजंघा टी इस्टेट एन्ड रिसर्च सेन्टरकी निर्देशक हुन्। फिदिममा सञ्चालित उक्त कम्पनीले अर्ग्यानिक चिया, जडीबुटी तथा मसला उत्पादन, प्रशोधन र बजारीकरण गर्दै आए।
निर्माण व्यवसायीका रूपमा परिचित मोहन आचार्य पनि केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन्। रसुवा कन्स्ट्रक्सनसँग आबद्ध उनी त्यहाँका निर्माण व्यवसायी तथा सिभिल इन्जिनियर हुन्।