BIZMANDU
www.bizmandu.com

चोलेन्द्रसँग जोडिएका इनमबाट खुल्दैछ रहस्यका पर्दा, पुराना नेता र व्यापारीदेखि प्रहरीसम्मको नेक्सस

२०८३ असोज २०

चोलेन्द्रसँग जोडिएका इनमबाट खुल्दैछ रहस्यका पर्दा, पुराना नेता र व्यापारीदेखि प्रहरीसम्मको नेक्सस
चोलेन्द्रसँग जोडिएका इनमबाट खुल्दैछ रहस्यका पर्दा, पुराना नेता र व्यापारीदेखि प्रहरीसम्मको नेक्सस


काठमाडौं। प्रहरीले असोज १० गते मध्यराति पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई समात्नेबित्तिकै उनको मोबाइल नियन्त्रणमा लियो।

GBIME
Tata

मोबाइलको कल, म्यासेज लगायत हेर्दा इनम सापकोटा भन्ने व्यक्तिसँग धेरैपटक सम्पर्क भएको देखियो। केही शंकास्पद जानकारी पनि भेटियो। त्यसपछि प्रहरीले चोलेन्द्रका बारेमा जानकारी निकाल्न थाल्यो। काठमाडौं महाराजगञ्जको एक अपार्टमेन्टमा बस्ने चोलेन्द्रले विदेशमा पटक पटक आवतजावत गरेको देखियो।

समातेको १२ घण्टापछि प्रहरीले चोलेन्द्रलाई परिवारको जिम्मा लगायो। तर, चोलेन्द्रमाथिको अनुसन्धान रोकिएको थिएन। सरकार ढाल्ने योजनामा लागेकोदेखि कारागारमा रहेका व्यक्तिसँग समेत सम्बन्ध देखिएपछि प्रहरीलाई अनुसन्धान तीव्र पार्न भनिएको थियो।

प्रहरीले इनममाथि अनुसन्धान गर्दै गर्दा उनी एक्कासी भारत जान लागेको जानकारी आयो। चोलेन्द्र र इनममाथि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनुसन्धान गरिरहेकामा इनम भाग्न लागेको जानकारीपछि प्रहरीको विशेष ब्युरोलाई पत्राचार गरियो। ब्युरोको टोलीले इनमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समातेर मोबाइल नियन्त्रणमा लियो।

‘भारत जाने सूचना पाएपछि तत्कालै समातेर मोबाइल नियन्त्रणमा लिइयो। पक्राउ गर्दा उनीसँग नेपाली राहदानी नै थियो,’ एक प्रहरी अधिकृतले भने।

प्रहरीले सुरुको दिनमा केरकार मात्रै गरेको थियो। शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले अदालतमा उपस्थित गराउन सकेन।

मोबाइलबाट इनमको चोलेन्द्र मात्रै होइन, सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका दीपक भट्ट र सुलभ अग्रवालसँग समेत सम्पर्क भएको भेटियो। अनुसन्धानबाट नयाँ तथ्य खुल्दै गएपछि इनमलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखियो।

उनीविरुद्ध सोमबार अभद्र व्यवहारमा म्याद थप गरियो। इनमकी पत्नी कविता पाण्डे बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पुगिन्। अदालतले बन्दी प्रत्यक्षीकरण जारी गर्न नपर्ने कारण भए बाटोको म्यादले महान्यायाधिवक्ता कार्यालयमार्फत २४ घण्टाभित्र कारण पेस गर्न भनेको छ।

चोलेन्द्रसँग जोडेर इनमले बिचौलियाको भूमिका निर्वाह गरेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले प्रहरीले इनमको अन्य मानिससँगको सम्पर्क पनि केलाइरहेको छ।

इनमसँग प्रहरीकै अधिकृत, व्यापारी र न्याय क्षेत्रमा मानिसको पनि फोन सम्पर्क देखिएको छ। अहिले प्रहरीले फोन सम्पर्कलाई केलाएर हेरिरहेको स्रोतले बतायो।

‘फोन सम्पर्क हुनु अपराध होइन। तर हामीले पूर्वप्रधानन्यायाधीशसँग बिचौलियाको भूमिका खेलेको हुनसक्ने आधारमा अनुसन्धान गरिरहेका छौं,’ एक प्रहरी अधिकृतले सुनाए।

३३/३४ वर्षका इनमको यसअघिका सरकारका मन्त्री र नेताहरुसँग पनि सम्पर्क भएको खुलेको छ। यो आधारमा संसद् पुनर्स्थापना र बालेन्द्र शाह सरकारको सत्ता पलटलगायत योजनाबारे केही खुराक आउन सक्ने स्रोतले बतायो।

चोलेन्द्र पक्राउबाट सुरु भएको श्रृंखलामा सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल पनि जोडिन पुगेका छन्। इनम र एआईजी वंशीराजको पनि फोन सम्पर्क भएको देखिएको छ। एआईजी वंशीराजलाई सूचना चुहाएको आरोपमा गृह मन्त्रालयले सोमबार निलम्बन गरेको छ। स्रोतका अनुसार वंशीराजले प्रधानमन्त्रीदेखि मन्त्रीसम्मका गोप्य सूचना इनमलाई पठाउँथे। त्यो सूचना पूर्वप्रधानन्यायाधीशलाई पठाउने गरिएको स्रोतले बतायो।

असोज २७ गते अवकाश पाउन लागेका वंशीराजको एक वर्ष म्याद थप गर्न सशस्त्र प्रहरीले गृह मन्त्रालयमा सिफारिस गरेको अवस्थामा इमनसँग समेत कनेक्सन देखिएपछि उनलाई निलम्बन गरेर जाँचबुझ अगाडि बढाइएको छ। उस्तै परे वंशीराजलाई हिरासतमा लिने तयारी रहेको स्रोतले बतायो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र पक्राउ परेपछि वंशीराज उनलाई भेट्न प्रहरी कार्यालय टेकु पुगेका थिए। तर, उनले सशस्त्रका महानिरीक्षकसँग अनुमति लिएका थिएनन्। उनीमाथि चोलेन्द्र पक्राउ परेको सूचना चुहाएको आरोप छ। डीआइजी हुँदा वंशीराज कोशी प्रदेशमा बसेका थिए। उनीसँग सम्पर्क देखिएका इनम झापाका हुन्।