BIZMANDU
www.bizmandu.com

एनआरएनलाई सेयर बजारमा लगानीको बाटो खुला, फण्डले ८५% सम्म आइपीओ बेच्न पाउने

२०८३ असोज २०

एनआरएनलाई सेयर बजारमा लगानीको बाटो खुला, फण्डले ८५% सम्म आइपीओ बेच्न पाउने
एनआरएनलाई सेयर बजारमा लगानीको बाटो खुला, फण्डले ८५% सम्म आइपीओ बेच्न पाउने


काठमाडौं। गैरआवासीय नेपाली (एनआरएन)का लागि सेयर बजार प्रवेशको बाटो खुलेको छ। सरकारले धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ मा ८औं संशोधन गरेर एनआरएनलाई सेयर बजारमा प्रवेशको बाटो खोलेको हो।

GBIME
Tata

सरकारले नियमावली संशोधन गरेर एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई जारी पुँजीको १० देखि ८५ प्रतिशतसम्म आइपीओ निष्कासन गर्न पाउने व्यवस्था गरिदिएको छ।

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले विश्वभरका गैरआवासीय नेपालीमार्फत पुँजी जुटाउन आइपीओ निष्कासनको तयारी गरिरहेको छ।

फण्डले न्यूनतम् १ हजार कित्ताको आइपीओ निष्कासन गर्नुपर्ने व्यवस्था नियमावलीमै समेटिएको छ। फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नियमावली संशोधनले नेपालमा गैरआवासीय नेपालीको लगानी परिचालन गर्न नयाँ ढोका खुलेको बताए।

‘पहिलो पटक गैरआवासीय नेपाली तथा नेपाली मुलका विदेशीले विदेशबाटै नेपाली बजारमा लगानी गरेर प्रतिफल फिर्ता लैजाने गरी कानुनी बाटो खुला भएको छ। यसले नेपालमा गैरआवासीयहरुको लगानीलाई पूर्वाधार निर्माणदेखि प्रतिफलमूखी क्षेत्रमा परिचालनको मार्ग प्रशस्त गरेको छ,’ भट्टराईले भने, ‘हामीले सिस्टम तयार पारिसकेका छौं। त्यही सिस्टममार्फत आइपीओ निष्कासन गरेर लगानी जुटाइने। यसमा न्यूनतम् १ लाख रुपैयाँभन्दा बढी रुपैयाँ गैरआवासीयले मात्रै लगानी गर्न पाउनेछन्।’

एनआरएन नेपाल डेभलपमेन्ट फण्डले डायस्पोरा इन्भेष्टमेन्ट सिस्टम बनाएको छ। यही सिस्टममार्फत गैरआवासीय नेपालीले आइपीओमा लगानी गर्न सक्नेछन्।

विदेशबाट पैसा पठाउँदा शुल्क लाग्ने भएकाले लगानीको सीमा राखिएको भट्टराईले बताए। ‘यसमा १ हजार कित्ता न्यूनतम् लगानी गर्नुपर्ने हुन्छ। बाहिरबाट पैसा पठाउँदा चार्ज लाग्ने भएकाले त्यो सीमा राखिएको हो,’ उनले भने।

फण्डले जारी गर्ने आइपीओमा नेपालीले भने लगानी गर्न पाउने छैनन्। यसको कारोबार नेपाल स्टक एक्सचेन्जमा एनआरएनबीच मात्रै हुनेछ। उनीहरुले फण्डमा गरेको लगानी र त्यसबाट प्राप्त प्रतिफल पनि फिर्ता लैजान पाउनेछन्।

एनआरएनले यसका लागि छुट्टै बैंक खाता (रुपी डिनुमेनेटेड फरेक्स अकाउन्ट) खोल्नुपर्नेछ। त्यसै खातामा उनीहरुको लगानीको प्रतिफल जम्मा हुनेछ।

एनआरएन फण्डले विभिन्न पूर्वाधार आयोजनामा लगानी गर्ने तयारीस्वरुप आइपीओ निष्कासन गरेर पुँजी जुटाउन लागेको हो।

‘पूर्वाधार सम्बन्धी परियोनामा लगानी गर्छौं। प्रोजेक्ट पहिचान गर्ने काम भइरहेको छ। प्रतिफल प्राप्त हुने आयोजनाबेस्ड भइ लगानी गर्नेछौं,’ भट्टराईले भने।