काठमाडौं। सूचना तथा सञ्चार मन्त्रालयले मातहतका निकाय र संस्थाका प्रमुखसँग कार्यसम्पादन सम्झौता गरेको छ।
मन्त्रालयले मातहतका निकाय र संस्थाका प्रमुखलाई सिंहदरबार बोलाएर मंगलबार कार्यसम्पादन सम्झौता गरेको हो।
मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलले चालु आर्थिक वर्ष २०८३/८४ का लागि डा. विक्रम तिमिल्सिनासँग कार्यसम्पादन सम्झौता गरेका छन्।

मन्त्रालयका महाशाखा प्रमुख तथा मन्त्रालय मातहतका विभिन्न निकाय र संस्थाका प्रमुखले सञ्चारसचिव पौडेलसँग कार्यसम्पादन सम्झौता गरेका छन्।
सचिव पौडेलसँग नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल), सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यात, गोरखापत्र संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावल र विज्ञापन बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठ कार्यसम्पादन सम्झौता गरेका छन्।

सञ्चारमन्त्री तिमिल्सिनाले कार्यसम्पादन सम्झौतालाई औपचारिकतामा सीमित नगरी सम्बन्धित निकायको दैनिक कार्यसम्पादन र वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण मार्गदर्शक दस्तावेजका रूपमा लिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ।
उनले कार्यसम्पादन सम्झौतामा तोकिएका काम निर्धारित समयभित्र सम्पन्न गर्नुपर्ने भन्दै सम्झौतालाई वार्षिक लक्ष्य प्राप्तिको महत्वपूर्ण आधारका रूपमा लिन भनेका छन्।
उनले कार्यसम्पादन सम्झौतामा तोकिएका काम निर्धारित समयसीमाभित्र भए वा भएनन् भन्ने विषयमा निरन्तर मूल्यांकन गरी चित्त नबुझेमा सम्बन्धित पदाधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्ने बताए।