BIZMANDU
www.bizmandu.com

त्रिशूलीमा फेरि र्‍याफ्टिङ सर्रर, ‘बाढीपछिको अवस्था सुरक्षित र रोमाञ्चक’

२०८३ असोज २०

त्रिशूलीमा फेरि र्‍याफ्टिङ सर्रर, ‘बाढीपछिको अवस्था सुरक्षित र रोमाञ्चक’
त्रिशूलीमा फेरि र्‍याफ्टिङ सर्रर, ‘बाढीपछिको अवस्था सुरक्षित र रोमाञ्चक’


काठमाडौं। ल्हेन्दे, भोटेकोशीहुँदै भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा क्षेत्र वरिपरि पनि ठूलो क्षति पुर्‍याएको थियो। जसकारण त्यहाँ साहसिक जलयात्रा (र्‍याफ्टिङ) पनि रोकिएको थियो।

GBIME
Tata

अब भने त्रिशूलीमा र्‍याफ्टिङ पुनः नियमित रुपमा संचालनमा आएको छ।

बाढीले नदीको बहाव र जलस्तरमा ल्याएको उतारचढावका कारण जोखिम बढाएपछि सुरक्षालाई मध्यनजर गर्दै केही समयका लागि र्‍याफ्टिङ सेवा रोकिएको थियो। नदीको बहाव सामान्य अवस्थामा फर्किएपछि जलपर्यटन व्यवसायीहरुले र्‍याफ्टिङ पुनः संचालनमा ल्याएका हुन्।

र्‍याफ्टिङ पुनः संचालन गर्नुअघि जलयात्रा विज्ञ, अनुभवी गाइड तथा प्राविधिकहरुको टोलीले त्रिशुली नदीका मुख्य र्‍याफ्टिङ रुटहरुको अनुगमन र अध्ययन गरेको थियो। 

बाढीपछि नदीको केही ठाउँमा नयाँ ‘र्‍यापिड्स’ (पानीको तीव्र बहाव र छाल) बनेको र केही पुराना धारहरू परिवर्तन भएको भए पनि अहिलेको बहाव र्‍याफ्टिङका लागि अनुकूल र सुरक्षित रहेको विज्ञहरूले बताएका छन्। 

नेपाल एशोसिएसन अफ र्‍याफ्टिङ एजेन्सीज् (नारा)का अध्यक्ष कमल ठकुरीले त्रिशूलीमा पटक पटक अध्ययन पछि अहिले र्‍याफ्टिङ सुरु गरेको बताए।

‘गल्छीदेखि मुग्लिङसम्म त्रिशूलीको धारमा खासै परिवर्तन छैन। त्यसले गर्दा शतप्रतिशत ढुक्क भएर र्‍याफ्टिङ गर्न सकिन्छ,’ उनले भने, ‘पानी एकदम सफा छ। हामीले अपनाउन पर्ने सबै सेफ्टी प्रोटोकल अपनाएका छौं। बच्चादेखि वृद्धसम्म सबैले आएर मज्जाले र्‍याफ्टिङ गर्न सक्नुहुन्छ। नदी एकदमै सुरक्षित छ।’

त्यस्तै, नाराका पूर्वअध्यक्ष सूर्यप्रसाद जोशी अहिलेको जलस्तर र बहावको गति साहसिक खेलप्रेमीहरुका लागि झन् उत्कृष्ट र रोमाञ्चक बनेको बताउँछन्।

‘अबदेखि त्रिशूली नदिमा व्यावसायिक रूपमा जनुसुकै कम्पनीले पनि र्‍याफ्टिङ गर्न सक्छन्। हामीले रिक ट्रिप गरेका थियौं। त्यसमा पूर्णरूपमा सुरक्षित देखिएपछि व्यवसायीक रुपमा र्‍याफ्टिङ सुरु निर्णय गरेका हौं,’ उनले भने।

रिभर साइड स्पा एन्ड रिट्रिड र त्रिशूली रिभर साइड रिसोर्टका संचालक उद्धव कँडेलले त्रिशूलीमा र्‍याफ्टिङ संचालनमा आएसँगै नदीमा आधारित पर्यटन व्यवसाय पुन: लयमा आउने विश्वास व्यक्त गरे।

‘भदौ १० गतेको आएको बाढीले लगभग अहिलेसम्म पर्यटक आउन एकदमै कम थियो। यहाँको संचालनमा रहेको अधिकांश पर्यटन त्रिशूली नदीमा नै आधारित थियो। बाढीपछि यहाँको पर्यटन सुस्ताएको थियो। अब र्‍याफ्टिङ सुरु भएको छ। त्यसपछि पर्यटन पनि चलाएमा हुन्छ भन्ने विश्वास लिएका छौं,’ कँडेलले भने।