काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपालमा निर्यात व्यापारको ठूलो सम्भावना रहेको बताएको छ। एडीबीका नेपाल निर्देशक आर्नो कोश्वाले निर्यात बढाउनका लागि लगानी बढाउनुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाजले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा उनले नेपालले व्यापार र उच्च भ्यालु भएका वस्तु तथा सेवा निर्यातमा ध्यान दिनुपर्ने बताए। यसले रोजगारी सिर्जना र पुँजी निर्माणमा सघाउँछ।
‘नेपालको निर्यात अहिले केही सीमित वस्तुमा आधारित छ। तर, हाम्रो अध्ययनले नेपालमा ठूलो सम्भावना देखाएको छ। यसका लागि लगानी बढाउन जरुरी छ। नेपालले व्यापार र उच्च भ्यालु भएका वस्तु तथा सेवा निर्यातमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘यसले रोजगारी सिर्जना र पुँजी निर्माणमा सघाउँछ।’
कोश्वाले नेपाललाई डिजिटल पूर्वाधार र प्रविधिमा लगानी गर्न सुझाव दिए। ‘यसमा गरिएको सानो लगानीले मुलुकलाई उच्च प्रतिफल दिन्छ,’ उनले भने।
कार्यक्रममा अर्थसचिव घनश्याम उपाध्यायले निर्यात बढाउन सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरिरहेको बताए।
‘सरकारले निजी क्षेत्रलाई निर्यातमा प्रोत्साहन गरिरहेको छ। खर्च बढाउन सरकार लागिरहेको छ। पुँजी निर्माणका लागि सरकार र निजी क्षेत्र सँगसँगै अगाडि जानुपर्छ,’ उनले भने।
उनले मुलुकले बीबी माइनस क्रेडिट रेटिङ पाउनुले अन्तर्राष्ट्रिय रुपमा नेपाल कमजोर नभएको स्पष्ट भएको भन्दै देश अहिले बाह्यरुपमा सहज आर्थिक अवस्थामा रहेको बताए।