काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीइओ) छनोट समितिले सर्टलिस्ट निकालेको छ।
नेप्सेको सीइओका लागि ८ जनाले आवेदन दिएकामा छनोट समितिले ४ जनाको सर्टलिस्ट निकालेर अर्थ मन्त्रालयमा कार्ययोजना प्रस्तुतिकरण तथा अन्तर्वार्ताको लागि बोलाएको हो।
सीइओका लागि सर्टलिस्टमा परेका अनिलराज पौडेल र नवराज सापकोटालाई अन्तर्वार्ताका लागि शुक्रबार बिहान बोलाइएको छ। यस्तै, छनोट समितिले नारायणप्रसाद सापकोटा र प्रताप सुवेदीलाई शुक्रबार बेलुकी अन्तर्वार्तामा बोलाएको छ।
कार्ययोजना प्रस्तुतिकरणपछि छनोट समितिले अर्थमन्त्रीसमक्ष नाम सिफारिस गर्नेछ। अर्थमन्त्रीले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेर नेप्सेको सीइओ नियुक्तिको निर्णय गराउँछन्।
छनोट समितिमा अर्थ मन्त्रालयकै सहसचिव महेश आचार्य संयोजक छन्। मन्त्रालयले १५ दिनको म्याद दिएर साउन १२ गते आवेदन खुलाएको थियो।
सीइओका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा स्नातकोत्तर हासिल गरेका, चार्टर्ड एकाउन्टेन्सी गरेको हुनुपर्ने योग्यता तोकिएको छ। यस्तै, ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको सहित १५ वर्षको अनुभव तोकिएको छ।
नेप्सेका तत्कालीन सीइओ चूडामणि चापागाइँले असार २२ गते राजीनामा दिएका थिए।