काठमाडौं। ठेक्का सकार्दाको सम्झौताका सर्तअनुसार काम नगर्दा कार्बाही सिफारिसमा परेका चार निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ।
कार्बाहीमा पर्नेमा बाँके कोहलपुरको एसएस निर्माण सेवा, जाजरकोट शिवालयको थापा कन्स्ट्रक्सन, मुगु सोरुको गगन निर्माण सेवा र रौतहट भसेड्वाको माँ बौधी कन्स्ट्रक्सन छन्। चारैवटा कम्पनीलाई २/२ वर्षका लागि कालोसूचीमा राखिएको मंगलबार जारी सूचनामा छ।
माँ बौधीलाई सडक डिभिजनको रौतहट चन्द्रनिगाहपुर कार्यालयले कार्बाही सिफारिस गरेको हो। अन्य तीनलाई डिभिजनको नेपालगञ्ज कार्यालयले कार्बाहीका लागि लेखिपठाएको हो।
सम्बद्ध कम्पनीले कार्बाही अवधिभर सार्वजनिक खरिद प्रक्रियामा सहभागिता जनाउन पाउँदैनन्।