BIZMANDU
www.bizmandu.com

चिनियाँ राजदूत झाङले गरे लिजी-नेचुङ नाकाको अवलोकन, स्तरोन्नति र व्यापार सहजीकरणमा जोड

२०८३ असोज १९

चिनियाँ राजदूत झाङले गरे लिजी-नेचुङ नाकाको अवलोकन, स्तरोन्नति र व्यापार सहजीकरणमा जोड
चिनियाँ राजदूत झाङले गरे लिजी-नेचुङ नाकाको अवलोकन, स्तरोन्नति र व्यापार सहजीकरणमा जोड


काठमाडौं। नेपालका लागि चीनका राजदूत झाङ माओमिङले नेपाल-चीन सीमा क्षेत्रमा रहेको लिजी-नेचुङ सीमा नाकाको स्थलगत अध्ययन गरेका छन्।

Vigo
GBIME
Tata

राजदूत झाङले शनिबार र आइतबार (अक्टोबर ३ र ४) मा सीमा क्षेत्रको नाका तथा नेपालको मुस्ताङ क्षेत्रको भ्रमण गरेका हुन्।

नाकाको चिनियाँतर्फको पूर्वाधारको स्थलगत निरीक्षण गर्दै उनले नाकाको विकास र सञ्चालनका विषयमा सम्बन्धित अधिकारीसँग छलफल गरेका थिए। छलफलमा तिब्बत स्वायत्त क्षेत्र, सिगात्से शहर, झोङ्पा काउन्टी तथा नाका व्यवस्थापनमा संलग्न अधिकारीहरू सहभागी थिए।

नाकालाई उच्च गुणस्तरमा विकास गर्ने, नेपाल चीनबीच मानिसको आवतजावत सहज बनाउने तथा दुई देशबीचको व्यापारलाई थप सहजीकरण गर्ने विषयमा छलफल भएको चिनियाँ दूतावासले जनाएको छ।

राजदूत झाङले नेपालको मुस्ताङतर्फ रहेको नाकाको अवस्थासमेत अवलोकन गरेका छन्। उनले स्थानीय अवस्था र जनताको धारणा बुझ्नुका साथै स्थानीय सरकार, सुरक्षा निकाय र भन्सार कार्यालयका अधिकारीसँग भेटघाट गरेका थिए।

भेटका क्रममा नाकाको पूर्वाधार, आपसी सम्पर्क तथा व्यापारिक गतिविधि सञ्चालनका लागि आवश्यक क्षमता र सुरक्षा व्यवस्थालाई थप बलियो बनाउनुपर्ने विषयमा छलफल भएको थियो।

दूतावासका अनुसार राजदूत झाङले नेपाल र चीन दुवै पक्षले मिलेर काम गरी नाकाको सम्पर्क तथा आवागमन क्षमता र आवश्यक पूर्वाधारलाई छिटो सुधार गर्न जोड दिएका छन्।

नाकाको स्तरोन्नतिबाट नेपाल चीनबीचको सीमापार व्यापार तथा मानिसको आवतजावत थप सहज हुने र यसबाट दुवै देशका सीमावर्ती क्षेत्रका नागरिक लाभान्वित हुने चीनको अपेक्षा छ।