BIZMANDU
www.bizmandu.com

विदेशी मुद्राको कारोबारमा राष्ट्र बैंक लचिलो, अग्रिम भुक्तानीको सीमा ५ लाख डलरसम्म

२०८३ असोज १९

विदेशी मुद्राको कारोबारमा राष्ट्र बैंक लचिलो, अग्रिम भुक्तानीको सीमा ५ लाख डलरसम्म
विदेशी मुद्राको कारोबारमा राष्ट्र बैंक लचिलो, अग्रिम भुक्तानीको सीमा ५ लाख डलरसम्म


काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा भुक्तानीसम्बन्धी व्यवस्थामा सहजीकरण गरेको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गर्दै नेपाली वायुसेवा कम्पनीका साथै औषधि उपचार, दूरसञ्चार सेवा, भारतसँगको कारोबार तथा सेवा निर्यात गर्ने कार्ड प्रयोगकर्ताले पाउने विदेशी मुद्रा सुविधाको सीमा बढाएको छ।

नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन तथा पार्टपूर्जा आयात गर्दा सम्बन्धित नियमनकारी निकायको सिफारिसलगायत आवश्यक कागजातका आधारमा अमेरिकी डलर ५ लाखसम्म अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्थाले स्वयं पठाउन सक्ने भएका छन्।

यसका लागि अब विदेशी बैंकको ग्यारेन्टी आवश्यक नपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो अग्रिम भुक्तानीको सीमा १ लाख अमेरिकी डलर थियो।

त्यस्तै, हवाईजहाजका इन्जिन वा पार्टपूर्जा विदेशमा लगेर मर्मत गरी नेपाल ल्याउने प्रयोजनका लागि पनि बैंक तथा वित्तीय संस्थाबाट ५ लाख डलरसम्म अग्रिम भुक्तानी गर्न सकिने भएको छ। यसअघि यसको सीमा १ लाख डलर थियो।

नेपाली नागरिकले औषधि उपचारका लागि बैंक तथा वित्तीय संस्थाबाट पाउने विदेशी मुद्रा सटही सुविधा १५ हजार डलरबाट बढाएर ३० हजार अमेरिकी डलर बराबर पुर्‍याइएको छ।

दूरसञ्चार सेवा प्रदायक कम्पनीले विदेशी सेवा प्रदायकसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिएमा वा प्रयोग गरेमा वार्षिक ५ लाख अमेरिकी डलरसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्थाले स्वयं गर्न सक्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो सीमा १ लाख डलर थियो।

साथै, नेपालमा दर्ता भई कारोबार गर्न स्वीकृति प्राप्त नेपाली तथा विदेशी संघसंस्था, कम्पनीलगायतले भारतस्थित संघसंस्था वा कम्पनीसँग सम्झौता गरी प्रत्येक पटक ६० लाख भारुसम्म पठाउन सक्ने भएका छन्। यसअघि यस्तो सीमा ४० लाख भारु थियो।

विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने कार्ड प्रयोगकर्ताले प्राप्त गरेको विदेशी मुद्रा कार्डमै जम्मा हुने व्यवस्था गरिएको छ। कार्ड प्रयोगकर्ताको अनुरोधमा निजको स्वदेशी वा विदेशी मुद्रा खातामा समेत रकम जम्मा गर्न सकिनेछ। कार्डमा जम्मा हुने रकम १० हजार अमेरिकी डलरभन्दा बढी भएमा अनिवार्य रूपमा स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ।

सेवा निर्यातबाट विदेशी मुद्रा आर्जन गरेका कार्ड प्रयोगकर्ताले वस्तु वा सेवा खरिद गर्दा विदेशी मुद्रा सटही गर्न पाउने वार्षिक सीमा आर्जित विदेशी मुद्रा रकममा ५०० अमेरिकी डलर थप गरी निर्धारण हुनेछ। यस्तो सुविधा बढीमा वार्षिक १० हजार अमेरिकी डलर बराबरको अन्य परिवर्त्य विदेशी मुद्रासम्म सीमित हुनेछ।

बैंक तथा वित्तीय संस्थाले एजेन्सी मौज्दातबाट आफ्नो दैनिक तरलतामा प्रतिकूल असर नपर्ने गरी बढीमा एक वर्ष वा सोभन्दा कम अवधिको कल डिपोजिट, सर्टिफिकेट अफ डिपोजिट वा यस्तै अन्य उपकरणमा लगानी गर्न सक्ने भएका छन्।

१ वर्षभन्दा बढी अवधिका लागि लगानी गर्दा आफ्नो एजेन्सी बैंकमा रहेको कुल मौज्दातको बढीमा ४० प्रतिशतसम्म रकम दुई वर्ष अवधिको कल डिपोजिट, सर्टिफिकेट अफ डिपोजिट वा यस्तै न्यून जोखिमयुक्त उपकरणमा लगानी गर्न सकिनेछ।

अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीबाट तोकिएको स्तर वा सोभन्दा माथिको रेटिङ प्राप्त देशको उच्च तरल विदेशी सरकारी ऋणपत्रमा गरिएको लगानीको हकमा भने ४० प्रतिशत सीमामा थप १० प्रतिशत वृद्धि गरी अधिकतम ५० प्रतिशतसम्म लगानी गर्न सकिनेछ। यस्तो लगानीको अवधि अधिकतम ५ वर्षसम्म हुन सक्नेछ।

सूचना प्रविधि उद्योग, व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण, पर्यटन तथा ऊर्जामूलक उद्योगले प्राप्त गर्ने विदेशी मुद्रा कर्जा वा पुँजीगत वस्तु आयातका लागि बिक्रेताबाट उपलब्ध हुने उधारो सुविधाको विदेशी विनिमय जोखिम व्यवस्थापन गर्न बैंकले उपलब्ध गराउने हेजिङ सेवाको अवधि तथा रकमभन्दा बढी नहुने गरी बढीमा पाँच वर्ष अवधिका वित्तीय उपकरणमा लगानी गर्न सक्नेछन्।