काठमाडौं। दसैंतिहार नजिकिएसँगै अटो व्यवसायीबीच ग्राहक तान्न प्रतिस्पर्धा चर्किएको छ। चारपांग्रेमा विद्युतीय गाडी (इभी)देखि पेट्रोल गाडीसम्म र दुईपांग्रेमा मोटरसाइकल तथा स्कुटरसम्मका ब्रान्ड बिक्रेताले चाडपर्व लक्षित योजना ल्याएका छन्।
कम्पनीहरुले हरेक वर्षको चाडबाडमा जस्तै यसपालि पनि छुट र उपहारका अफर ल्याएका छन्। नगद छुटका अलावा क्यासब्याक, स्क्र्याच कार्ड, एक्सचेन्ज बोनस, निःशुल्क बीमा, सडक कर, सर्भिसिङ, चार्जर र सहुलियतपूर्ण फाइनान्सिङलाई अफरमा समेटिएको छ।
अटो व्यवसायीले आफ्ना लागि दसैं मुख्य सिजन भएकाले बिक्री बढाउन आक्रामक योजना ल्याएका हुन्। बजारमा सार्वजनिक भएका अफर हेर्दा केही ब्रान्डले प्रत्यक्ष मूल्य घटाउने रणनीति लिएका छन् भने केहीले लक्की ड्र र उपहारमार्फत ग्राहक आकर्षित गरिरहेका छन्।
कार तथा इभीमा नगद छुट, बीमा, सडक कर र चार्जर जस्ता प्रत्यक्ष लाभमा जोड दिइएको छ। दुईपांग्रेमा भने क्यासब्याक, स्क्र्याच कार्ड, लक्की ड्र र ठुलो नगद पुरस्कारमार्फत ग्राहक तान्ने प्रयास भइरहेको छ।
अटो व्यवसायीका लागि दसैंतिहार बिक्री बढाउने मात्र होइन, स्टक व्यवस्थापन गर्ने महत्वपूर्ण समय पनि हो। त्यसैले चाडपर्वको समयमा व्यवसायीबीच मूल्य घटाउन समेत प्रतिस्पर्धा हुने गरेको छ।
यसपटक पेट्रोल गाडी र इभीबीच मात्रै होइन, एउटै वर्गका ब्रान्डबीच पनि ग्राहक तान्ने प्रतिस्पर्धा देखिएको छ।
कारमा १२ लाखसम्म छुट
चारपांग्रे बजारमा होन्डाले १० लाख रुपैयाँसम्म नगद छुट दिने योजना ल्याएको छ। ‘होन्डाको सफर’ नाम दिइएको योजनामा एक आर्थिक वर्षको सडक कर र फुल इन्स्योरेन्स निःशुल्क, पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ र एक वर्षको रोडसाइड असिस्टेन्सको सुविधा छ।
पुरानो गाडी एक्सचेन्ज गर्ने ग्राहकले एक्सचेन्ज बोनससमेत पाउनेछन्। सेप्टेम्बर २५ देखि लागू भएको योजना नोभेम्बर १६ सम्म कायम रहने कम्पनीले जनाएको छ।
हुन्डाईले ग्राहकलाई ८ लाख रुपैयाँसम्म लाभ दिने योजना ल्याएको छ। कम्पनीले ‘हुन्डाई फेस्टिभ ड्राइभ’ नाम दिएर दसैंतिहार अफर ल्याएको हो।

कम्पनीको अफरमा नगद छुट ३ लाख रुपैयाँसम्म छ भने स्क्र्याच कार्डबाट थप ५ लाख रुपैयाँसम्म छुट जित्न सकिनेछ। यसबाहेक एक वर्षको बीमा र सडक कर निःशुल्क दिने कम्पनीले बताएको छ
यस्तै अशोक लेल्यान्डको गाडी खरिदमा ६ रात ७ दिनको बाली टुर वा सामसुङको ५५ इन्चको फोरके टिभी र अर्को विकल्पमा दुई वटै कम्बोमा सामसुङको ४५ इन्चको टिभी र सामसुङको ग्यालेक्सी एस२६ पाइन्छ।
सुजुकी कार किन्न चाहने ग्राहकका लागि बिक्रेता कम्पनीले १ लाख नगद छुट, १ लाख एक्सचेन्ज छुट, नि:शुल्क पार्ट्स र अटो प्लस बीमाको अफर ल्याएको छ।
म्याक्सस नेपालले ७ वर्षको किस्ताबन्दी, १ वर्ष नि:शुल्क चार्जिङ, १ वर्षको अटो प्लस बीमा र २० प्रतिशत डाउनपेमेन्टमा गाडी खरिद गर्न सकिने अफर ल्याएको छ। निसान गाडी खरिद गर्न चाहनेले नगद छुटका अलावा १ वर्षको बीमा, सडक कर र गाडी वासरको अफर पाउनेछन्।
कतिपय कम्पनीले नगद छुट, बीमा र सडक करका अलावा होम चार्जर, एसेसरिज र एक्सचेन्जलाई अफरमा समेटेका छन्। इभी बिक्रेता कतिपय कम्पनीले तत्काल डेलिभरीलाई चाडपर्व योजनाको हिस्सा बनाएका छन्।
इभी बजारमा चाडपर्वको अफर तीव्र बनेको छ। बीएसी आयोन गाडीमा ग्राहकलाई ९ लाख रुपैयाँसम्म लाभ दिने योजना ल्याइएको छ।

योजनामा नगद छुट, एक्सचेन्ज बोनस, एक वर्षको सडक कर, एक वर्षको बीमा, ६.६ किलोवाटको होम चार्जर तथा एसेसरिज समावेश छन्। कम्पनीले उपलब्ध मोडलअनुसार तत्काल डेलिभरी गर्ने पनि बताएको छ।
यसपालि इभी ब्रान्डले मूल्यमा मात्र प्रतिस्पर्धा नगरी ग्राहकको सुरुवाती खर्च घटाउने गरी बीमा, कर र चार्जरलाई प्याकेजमा राखेका छन्।
दसैंतिहार अफर योजनामा एक्सपेङ गाडी खरिद गर्नेले १२ लाख रुपैयाँसम्म फाइदा लिन सक्नेछन्।
बाइक स्कुटरमा क्यासब्याकदेखि १० लाखसम्म पुरस्कार
ग्राहकलाई आकर्षित गर्ने मामिलामा दुईपांग्रे बजार झन् आक्रामक देखिएको छ। टीभीएसले ‘गोल्डेन की’ योजना ल्याएको छ। कुनै पनि टीभीएस मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले पुरस्कार पाउने सुनिश्चित गरी कम्पनीले दसैं अफर ल्याएको हो।
यसमा १० लाख रुपैयाँसम्म नगद छुट, गोल्ड की वा खरिद मूल्यको १०० प्रतिशतसम्म क्यासब्याकमध्ये एउटा पुरस्कार पाउने व्यवस्था छ। दैनिक लक्की ड्रमार्फत ५ वर्षसम्म निःशुल्क सर्भिसिङको अवसरसमेत राखिएको छ।
हिरोका दुई पांग्रेमा ‘कोर्यौ कि पर्यो’ योजनामार्फत डिजिटल स्क्र्याच कार्डबाट १० लाख रुपैयाँसम्म नगद पुरस्कार दिने योजना ल्याइएको छ। हरेक साता एक जना ग्राहकले १०० प्रतिशत क्यासब्याक पाउने र एक्सचेन्ज तथा फाइनान्सिङ सुविधा पनि उपलब्ध हुने बिक्रेता कम्पनीले जनाएको छ।
यामाहाको बाइक तथा स्कुटर बिक्रेता कम्पनीले दसैंतिहारलाई लक्षित गर्दै ग्राहक तान्ने सक्दो प्रयास गरेको छ। कम्पनीले बाइक तथा स्कुटर खरिद गर्दा स्क्यान र रजिस्टर गरेर १ लाख रुपैयाँसम्म तथा हरेक खरिदमा १० लाख रुपैयाँसम्म जित्न सकिने अफर ल्याएको छ। साथै साप्ताहिक रुपमा हाइ-टेक ग्याजेट, बम्पर प्राइजमा यामाहा आर१५ र दैनिक क्यास ब्याक पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

होन्डाको दुई पांग्रेमा १ लाखसम्म जित्ने मौका छ। नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कुपनबाट १ लाख रुपैयाँसम्म नगद जित्न सक्नेछन्। सातै प्रदेशबाट हरेक साता एक-एक जना विजेता छनोट हुनेछन्। ग्राहकले थप १० हजार रुपैयाँसम्मको स्क्र्याच कुपन, सात वर्षको निःशुल्क सर्भिसिङ वा पाँच वर्षको एएमसीमध्ये एउटा सुविधा रोज्न सक्नेछन्।
सुजुकीको दुई पांग्रेमा १ लाखसम्म छुट वा एक्सचेन्ज बोनसको योजना ल्याइएको छ। ग्राहकले नगद छुट वा एक्सचेन्ज बोनस लिन सक्नेछन्। साथै शून्य ब्याजदरमा ३६ महिनासम्मको फाइनान्सिङ विकल्प पनि राखिएको छ।
चेतकको इभी स्कुटर खरिदमा फेस्टिभ अफरका रुपमा १ लाख रुपैयाँसम्म क्यासब्याकको अफर छ। साथै ५ वर्षको वारेन्टी, शून्य ब्याजदरमा ५ वर्षसम्म किस्ताबन्दी र नि:शुल्क एसेसरिज उपलब्ध हुनेछ।

टीभीएसको अर्बिटर र आईक्युब इभी स्कुटरमा ‘दसैंतिहार नयाँ सवारी, नयाँ गर्व’ नामक अफर ल्याइएको छ। यो अफरमा हरेक हप्ता एक जना ग्राहकले सुनको सिक्का जित्न सक्नेछन्। अन्य १० हजारसम्मले क्यास छुट, गिफ्ट ह्याम्पर, पुरानोसँग साट्दा बेस्ट भ्यालुएसन, फाइनान्स र हेलमेट फ्री पाउनेछन्।
जिलियो ई स्कुटर खरिद गर्नेले दसै अफरमा १० हजारसम्म नगद छुट पाउने अफर ल्याइएको छ। यसैगरी, बेनेलीमा दसैंलाई लक्षित गर्दै एक्सचेन्ज बोनसमा ४० हजार रुपैयाँसम्म दिने तथा फाइनान्सको सुविधा पनि सजिलो बनाएको बिक्रेता कम्पनीले जनाएको छ।
लेटबी मोटरसाइकलमा पनि दसैंतिहार अफर ल्याइएको छ। अफर अन्तर्गत पहिलेकै मूल्यमा बाइक दिने र हेलमेट नि:शुल्क उपलब्ध गराउने बिक्रेता कम्पनीले बताएको छ।
ट्राइम्फ बाइकमा सर्टिफाइड राइडिङ ज्याकेट, हेलमेट, एक्सचेन्ज बोनस तथा किस्ताबन्दीको अफर छ।