विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्स र एभरेस्ट बैंक बीचको सहकार्यले यसपटक पनि निरन्तरता पाएको छ।
सुरुदेखि नै विराटनगर किङ्ससँग सहकार्य गर्दै आएको एभरेस्ट बैंकले आगामी एनपीएल सिजन–३ मा पनि टोलीसँगको साझेदारीलाई निरन्तरता दिने भएको हो।
विराटनगर किङ्स र एभरेस्ट बैंकबीचको सहकार्यसम्बन्धी सम्झौता विराटनगरमा आइतबार सम्पन्न भएको छ।
विराटनगर किङ्सका निर्देशक पारस लुनियाँले एभरेस्ट बैंकले नेपाली क्रिकेटको विकास तथा खेलकुद क्षेत्रको प्रवर्धनमा योगदान पुर्याउँदै बताए।
निर्देशक लुनियाँले बैंक र विराटनगर किङ्सबीचको सहकार्यले नेपाली क्रिकेटमा निजी क्षेत्रको सहभागितालाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
लुनियाँले नेपाली क्रिकेटको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलकुदलाई व्यावसायिक रूपमा अघि बढाउने अभियानमा कर्पोरेट क्षेत्रको साथ महत्वपूर्ण रहेको उल्लेख गरे।
एभरेस्ट बैंकका कोशी प्रदेश प्रमुख सुधीर गौतमले खेलकुद, जनस्वास्थ्य, शिक्षा लगायतका सामाजिक र सामूहिक उत्तरदायित्वमा एभरेस्ट बैंकले निरन्तर योगदान गरिरहेको जानकारी दिए।
प्रमुख गौतमले बैंक र विराटनगर किङ्स बिचको सहकार्यले व्यावसायिक, योग्य र अनुशासित खेलाडीलाई प्रोत्साहन प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको बताए।