काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले विपद् व्यवस्थापनमा सरकारले कुनै सम्झौता नगरी काम गरिरहेको बताएका छन्।
उनले सोमबार प्रधानमन्त्री कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेर सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको बताएका हुन्। उनले विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरिरहेको बताए।
बैठकमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका मुख्यमन्त्री पनि सहभागी थिए। बालेनले मुख्यमन्त्रीहरुलाई विपद् व्यवस्थापनको काम चाँडो सकिनेमा निर्धक्क हुन भनेको उनको सचिवालयले जनाएको छ। ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं। त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु,’ बालेनले भने।
भोटेकोशी नदीमा आएको बाढी तथा अन्य क्षेत्रको पहिरोले भएको क्षतिको अध्ययनसहित सरकार व्यवस्थापनमा जुटेको उनको भनाइ थियो।
उनले विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको तथा हिमपहिरोको जोखिम न्यूनीकरणका लागि आवश्यक काम गरिरहेको बताए।