काठमाडौं। प्रधान सेनापति अशोक राज सिग्देल बेलायतको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।
बेलायती समकक्षी सर रोली वाकरको निमन्त्रणामा प्रधान सेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा निस्किएका हुन्। जंगी अड्डाका अनुसार उनी असोज १९ गतेदेखि २५ गतेसम्म बेलायत भ्रमणमा रहनेछन्।
प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंग केसीले बिदाइ गरेका थिए।
उक्त भ्रमणले दुई देशबीचको आपसी सैनिक सम्बन्धमा टेवा पुग्नुका साथै सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने जंगी अड्डाले जनाएको छ।