काठमाडौं। सीए शेषमणि दाहालको ‘द पर्पल बुक अफ ट्याक्स’को नवौं संस्करण बजारमा आएको छ। नौ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको पुस्तकको नयाँ संस्करणमा आर्थिक ऐन, २०८३ ले संशोधन गरेको आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन नेपाली तथा अंग्रेजी भाषामा समेटिएको छ।
साथै नेपाल कानुन पत्रिकामा प्रकाशित भएका करसम्बन्धी नजीरको संग्रह समावेश छ। आर्थिक ऐनमार्फत लगाइएका सम्पूर्ण कर, महसुल, दस्तुर, शुल्क तथा रोयल्टीहरूका साथै आर्थिक ऐन, २०८३ मार्फत करमा दिइएका छुट तथा सहुलियतहरूलाई समेत पुस्तकमा समावेश गरिएको छ।
आयकर तथा मूल्य अभिवृद्धि कर निर्देशिकाले गरेका विशेष कानुनी व्याख्या ऐनका व्यवस्थासँगै राखिएका कारण पाठकलाई कानुन पढ्न र बुझ्न सरल हुने लेखक दाहालले बताए।
पुस्तकमा आन्तरिक राजस्व विभागले आव २०८२।८३ सम्म जारी गरेका परिपत्र, पूर्वादेश, सर्वोच्च अदालत तथा राजस्व न्यायाधिकरणले कर सम्बन्धी मुद्दामा गरेका महत्त्वपूर्ण व्याख्या, फैसलालाई ऐनका दफासँगै राखिएको छ। पुस्तक देशभरका पसलका साथै ‘दराज अनलाइन सप’ र ‘किताब यात्रा’ अनलाइनमार्फत पनि अर्डर गर्न सकिने जनाइएको छ।