BIZMANDU
www.bizmandu.com

सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान, के हुनुपर्छ योग्यता?

२०८३ असोज १९

सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान, के हुनुपर्छ योग्यता?
सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान, के हुनुपर्छ योग्यता?


काठमाडौं। सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पदका लागि दरखास्त खुलेको छ। सडक बोर्ड ऐन, २०५८ को दफा २१ बमोजिम सोमबार प्रकाशित सूचना अनुसार पदावधि चार वर्षको हुने उक्त लागि पदका लागि दरखास्त बुझाउन १५ दिनको समयावधि छ।

Vigo
GBIME
Tata

आवेदन दिन सिभिल इन्जिनियरिङ वा व्यवस्थापन विषयमा स्नातकोत्तर गरी इन्जिनियरिङ वा सडक व्यवस्थापनसँग सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको अनुभव भएकाहरू योग्य हुनेछन्। आवेदकको उमेर ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।

साथै गैर-नेपाली नागरिक, प्रचलित कानुन बमोजिम कालो सूचीमा परेका, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागू औषध, सम्पत्ति शुद्धीकरण वा अन्य फौजदारी कसूरमा सजाय पाएका, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेका तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्तिहरू यस पदका लागि अयोग्य मानिने सूचनामा छ।

दरखास्तका साथ वैयक्तिक विवरण, शैक्षिक योग्यता, नेपाली नागरिकता र कार्य अनुभवका प्रमाणित प्रतिलिपिहरू संलग्न गर्नुपर्नेछ। यसका साथै कार्यकारी निर्देशकको हैसियतले पुऱ्याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजना सहितको कार्यपत्र छुट्टै सिलबन्दी खाममा पेस गर्नुपर्नेछ।

सरकारी कर्मचारीको हकमा सम्बन्धित अख्तियारवालाको पूर्व स्वीकृति र इन्जिनियरको हकमा नेपाल इन्जिनियरिङ परिषद्को प्रमाणपत्र अनिवार्य गरिएको छ। सेवा, सुविधा, मूल्यांकनका आधार र नियुक्ति सम्बन्धी अन्य प्रक्रिया सडक बोर्ड ऐन, २०५८ तथा सम्बन्धित नियमावली, २०५९ बमोजिम हुने जनाइएको छ।

दरखास्त फाराम सडक बोर्ड नेपालको कार्यालयबाट पाइने र सोही कार्यालयमा नै बुझाउनुपर्ने सूचनामा छ।