BIZMANDU
www.bizmandu.com

नेपाल राष्ट्र बैंकले दुई रुपैयाँका ३० करोड सिक्का छाप्न आह्वान गर्‍यो बोलपत्र

२०८३ असोज १९

नेपाल राष्ट्र बैंकले दुई रुपैयाँका ३० करोड सिक्का छाप्न आह्वान गर्‍यो बोलपत्र
नेपाल राष्ट्र बैंकले दुई रुपैयाँका ३० करोड सिक्का छाप्न आह्वान गर्‍यो बोलपत्र


काठमाडौं। नेपाल राष्ट्र बैंकले दुई रुपैयाँ दरका ३० करोड थान सिक्का छाप्न बोलपत्र आह्वान गरेको छ।

Vigo
GBIME
Tata

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पूर्वयोग्य सुरक्षा मुद्रण कम्पनीहरूबाट सिक्का डिजाइन, छपाइ, आपूर्ति र ढुवानीका लागि बोलपत्र आह्वान गरेको हो।

बैंकले सोमबार बोलपत्रसम्बन्धी सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्रअन्तर्गत पूर्वयोग्य कम्पनीले मात्र प्रक्रियामा सहभागी हुन पाउने जनाएको छ।

बोलपत्र एक चरणको दुईवटा खाम प्रक्रियाबाट सञ्चालन हुने बैंकले जनाएको छ। सहभागी कम्पनीले प्राविधिक र मूल्यसम्बन्धी प्रस्ताव छुट्टाछुट्टै खाममा राखेर बुझाउनुपर्नेछ।

बोलपत्रसम्बन्धी कागजात नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागबाट खरिद गर्न सकिनेछ। कागजात खरिद गर्ने अन्तिम मिति ३ नोभेम्बर २०२६ तोकिएको छ।

बोलपत्र कागजातको शुल्क २० हजार रुपैयाँ तोकिएको छ। अमेरिकी डलरमा १३१ र युरोमा ११५ शुल्क तोकिएको सूचनामा उल्लेख छ।

बोलपत्रदाताका लागि पूर्वबोलपत्र बैठक १६ अक्टोबर २०२६ मा हुनेछ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा दिउँसो १२ बजे बैठक हुने जनाइएको छ।

बोलपत्र बुझाउने अन्तिम समय ४ नोभेम्बर २०२६ दिउँसो १२ बजेसम्म तोकिएको छ। सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिने बैंकले जनाएको छ।

बोलपत्रसँग कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर बराबरको जमानत राख्नुपर्नेछ। बोलपत्र खोलिएको मितिदेखि जमानतसहित बोलपत्र १२० दिनसम्म मान्य हुनुपर्नेछ।

बोलपत्रको म्याद ३ अप्रिल २०२७ सम्म कायम रहने छ। सार्वजनिक बिदाका कारण अन्तिम मिति परेमा त्यसपछिको पहिलो कार्यदिवसलाई अन्तिम मिति मानिनेछ।

नेपाल राष्ट्र बैंकले कालोसूचीमा परेको कम्पनी वा त्यस्ता कम्पनीसँग सम्बन्धित व्यक्तिलाई बोलपत्रमा सहभागी हुन नदिने जनाएको छ।