BIZMANDU
www.bizmandu.com

‘कांग्रेस उद्यमीले कमाउन पाउनुपर्ने अर्थतन्त्रको पक्षमा छ, तर ऋण लिन किन कसैले मानिरहेका छैनन्?’

२०८३ असोज १८

‘कांग्रेस उद्यमीले कमाउन पाउनुपर्ने अर्थतन्त्रको पक्षमा छ, तर ऋण लिन किन कसैले मानिरहेका छैनन्?’
‘कांग्रेस उद्यमीले कमाउन पाउनुपर्ने अर्थतन्त्रको पक्षमा छ, तर ऋण लिन किन कसैले मानिरहेका छैनन्?’


काठमाडौं। नेपाली कांग्रेसले आफू उद्यमीले कमाउन पाउनुपर्ने अर्थतन्त्रको पक्षमा रहेको बताएको छ। कांग्रेस सभापति गगन थापाले उद्यमीले कमाउन पाउनुपर्ने र समुन्नति पार्टीको मिसन भएको बताएका छन्।

Vigo
GBIME
Tata

उनले आइतबार पार्टीको १५औं महाधिवेशन उद्‍घाटन समारोहमा विश्व अर्थतन्त्रमा देखिएका समस्या औंल्याउँदै देशभित्र उद्योग कलकारखाना खोद्य्नका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने बताए।

‘हामी यस्तो अर्थतन्त्रको पक्षमा छौं जहाँ उद्यमीले कमाउन पाउनुपर्छ। जहाँ श्रमिकको पनि सम्मान हुनुपर्छ। हामी यस्तो समाजको पक्षमा छौं जहाँ कानुन सबैका लागि बराबर हुनुपर्छ भन्ने विश्वास हुनुपर्छ। हामी समृद्धिको पक्षमा होइन, समुन्नतिको पक्षमा छौं। यो समुन्नतिको मिसन लिएर नेपाली कांग्रेस जानुपर्नेछ,’ उनले भने।

गगनले ऋणको ब्याजदर ४ प्रतिशतमा झर्दा पनि उद्यमी व्यवसायीले ऋण लिन नमानेका कारण पैसा बैंकमा थुप्रिएर बसेको बताए। बैंकले घरघरमा पुगेर आग्रह गर्दा पनि उद्यमी व्यवसायीले ऋण लिन नमानिरहेको भन्दै यतातर्फ सरकारको ध्यान नदेखिएको बताए।

‘अहिले नेपालका बैंकहरु राम्रा चलेका उद्यमीका घर घरमा कृपया लोन लिइदिनुस् म तपाइँलाई ४ प्रतिशत ब्याजदरमा लोन दिन्छु भनेर बैंकहरु उद्यमीका घर घरमा गइरहेका छन्। किन? केटाकेटी बाहिर काम गर्न गएका छन्। रेमिटेन्सबाट पैसा आएको छ। पैसा बैंकमा थुप्रिएको छ। तर, बैंकमा लोन लिन कोही पनि जाँदैन। किन? सरकार त बन्यो। दुई तिहाइ छ। ताली बजेको छ। संख्या छ सबै छ। तर खोइ किन भइरहेको छैन?,’ उनले प्रश्न गरे।

बैैंकहरुमा अहिले लगानीयोग्य रकम १६ खर्ब रुपैयाँभन्दा बढी थुप्रिएको छ।

गगनले देशभित्र रोजगारीका पर्याप्त अवसर सिर्जना नभएका कारण युवाहरुको विदेश पलायन बढेर गाउँ रित्तिएको र उपभोग गर्नेहरुको कमिका कारण ऋण लगानी ठप्प हुन पुगेको बताए। उनले नेपालले अब भारत र चीनलाई बजार बनाउने गरी उत्पादन गर्नुपर्नेमा जोड दिए। उनले यसका लागि सरकार र राजनीतिक दल सबै मिलेर योजना बनाउनुपर्ने आवश्यकता औंल्याए।

‘एकथरिले भनेका छौं- तिमीहरु आयौ, तिमीहरु चलाउ। सरकारमा बसेकोले के भनिदिएको छ- ३५ वर्ष खुब खाएका थियौ नि। यति सजिले ब्ल्याक एण्ड ह्वाइट प्रब्लम हो? यो ३५ वर्षमा हाम्रा गाउँहरु किन रित्ता भए? किन हामीले नेपालभित्र उद्योगधन्दा कलकारखाना चलाउन सकेनौं? किन हामीले उत्पादन गर्न सकेनौं? छेउछेउमा भारत र चीनजस्ता बजार हुँदा पनि किन चल्न सकेन हाम्रो धन्दा? यी प्रश्नको उत्तर सँगै बसेर खोज्नुपर्नेछ,’ उनले भने।

उनले सूचना प्रविधिको विकासका कारण विदेशमा समेत रोजगारीका अवसर गुमेर त्यहाँ रहेका नेपालीहरु फर्किनका लागि बाध्य हुनुपर्ने अवस्था आउनसक्ने भन्दै अब यस विषयमा गम्भीर छलफल गरी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याए।

‘विश्व राजनीतिले हामीलाई कसरी गाँजेको छ हेर्नुपर्दैन हामीले? रुस र युक्रेनको वारको प्रभाव हामीलाई परेको छैन? पश्चिम एसियामा जे भइरहेको छ त्यसको प्रभावबाट नेपाल मुक्त हुन सक्छ?,’ उनले भने, ‘ग्लोबलाइजेसनको युग सकियो अब। ठूला देश सबै संरक्षणवादी भएका छन्। उच्च भन्सार दर लगाएका छन्। कुन सामान उत्पादन गर्ने हो हामीले? कुन सामान बेच्ने हो? प्रविधिको विकासले अबको ५ वर्षभित्र के हुन्छ हामीलाई केही थाहा छैन। अटोमेसन र आर्टिफिसियल इन्टेलिजेन्सले हाम्रो अर्थतन्त्रलाई के प्रभाव पार्छ होला? हाम्रा साथी भाइले अहिले त काम पाएका छन्। तर उनीहरु कतिले फर्किनुपर्छ होला यसको बारेमा छलफल कहाँ गर्ने हो?’

गगनले कांग्रेस अब लालुपाते भएर नहिंड्ने भन्दै स्पष्ट नीति लिने सुनाए। ‘हामीलाई केही कुरामा प्रष्टता चाहिएको छ। हामी लालुपाते भएर हुँदैन। यपनि ढल्किने, उता पनि ढल्किने,’ उनले भने।

उनले कांग्रेसले अब देशको अवस्था र आवश्यकताको बीचमा पुलको काम गर्ने प्रष्ट पारे। ‘ऊर्जा र अनुभवलाई कांग्रेसले जोड्ने काम गर्छ,’ उनले भने।