काठमाडौं। स्वचालित प्रणाली अनुसार इन्धनको मूल्य समायोजन गर्न नसक्दा नेपाल आयल निगमको घाटा उकालो लाग्दै गएको छ।
इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोलियम पदार्थको भाउ नबढाइएपछि निगमको घाटा बढ्दै गएको हो। निगमले गत साउन १७ यता इन्धनको मूल्य समायोजन गरेको छैन।
आईओसीबाट असोज १४ गते मूल्य बढेर आए पनि निगमले भाउ बढाएन। जसका कारण निगमलाई १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने देखिएको छ।
यसअघि १५ दिनमा निगमले १ अर्ब ९१ करोड ५९ लाख रुपैयाँ घाटा सहेको थियो। साउन १७ यता इन्धनको मूल्य समायोजन नगर्दा करिब ५ अर्ब रुपैयाँ घाटा भएको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए।
आईओसीबाट अहिले प्रति लिटर डिजलको भाउ २०.२१ रुपैयाँ, पेट्रोलको भाउ २०.४४ रुपैयाँ मट्टितेलको भाउ १५.९६ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रति सिलिन्डर ८१.३२ रुपैयाँ बढेर आएको छ। यस्तै हवाई इन्धनको मूल्य पनि प्रति लिटर १८.६६ रुपैयाँ बढेर आएको निगमले जनाएको छ।
निगमले घाटाको ग्राफ उकालो लागे पनि जनतालाई राहत दिन मूल्य नबढाएको बताएको छ। निगमका कार्यकारी निर्देशक साहले चाडबाडका कारण अहिले मूल्य बढाउने योजना नरहेको बताए।
‘अहिलेसम्म निगमलाई कसैको ऋण पनि छैन। अहिले करिब ४ अर्ब रुपैयाँ निगमको मूल्य स्थिरिकरण कोषमा छ। त्यसैले हामी अहिले विपद् र चार्डबाड दुवैका कारण मूल्य बढाउने पक्षमा छैनौं,’ उनले भने, ‘डिजलको मूल्य बढाउँदा ढुवानी भाडा वृद्धिले दसैं तिहारका बेला महँगी बढ्छ। त्यसले हामीले कोषबाट घाटा बेहोर्ने भनेर भाउ नबढाएका हौं।’
अन्तर्राष्ट्रिय बजार मूल्य अनुसार भाउ नबढाउँदा एक दशकअघि निगमको घाटा बढेर ३८ अर्ब रुपैयाँसम्म पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा भाउ घटेका बेला त्यही अनुपातमा मूल्य समायोजन नगरेर निगमले त्यो घाटा पूर्ति गरेको थियो।