काठमाडौं। दसैं, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रु धेरै हुन थालेका छन्। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान ट्राफिक प्रहरीको छ।
चाडपर्व मनाउन विभिन्न जिल्ला फर्किने क्रम सुरु भएसँगै काठमाडौंका बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त एवं एसपी नरेशराज सुवेदीले बताए। ‘विशेषगरी दसैंका लागि घर फर्किनेको सङ्ख्या बढ्दैछ,’ उनले भने, ‘यो वर्ष दसऐ तिहारमा उपत्यकाबाट कम्तीमा पनि आठ लाख बाहिरिने अनुमान छ।’
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार दशैं नजिकिँदा सार्वजनिक यातायातमा यात्रुको चाप थप बढ्न थालेको छ। उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई गन्तव्यसम्म पुर्याउन रुटका नियमित गाडीसँगै अतिरिक्त गाडी थपिने उनले बताए।
चाडपर्वमा यात्रुको चाप अत्यधिक हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमनसमेत बढाएका छन्। यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने भएकाले मुख्य सडक तथा उपत्यका बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ। यात्रुको सहज आवागमनका लागि सम्भावित भीडभाड हुने स्थानमा आवश्यक जनशक्ति परिचालन गरिने ट्राफिक प्रवक्ता सुवेदीको भनाइ छ।
दसैंतिहारका समयमा उपत्यका छाड्नेको संख्या धेरै हुने भएकाले सार्वजनिक यातायातमा हुने सम्भावित ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा असुरक्षित रूपमा सवारी सञ्चालन गर्ने गतिविधिमाथि निगरानी बढाइने भएको छ।