काठमाडौं। कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता सोमबार हुने भएको छ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले शनिबार जारी गरेको विज्ञप्तिअनुसार आगामी सोमबार दिउँसो २ देखि साँझ ६ बजेसम्म काठमाडौँस्थित राष्ट्रियसभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका छ।
निर्वाचन समितिका सदस्य-सचिव राजु कटुवालद्वारा जारी विज्ञप्तिमा तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने उल्लेख छ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आवश्यक निर्वाचन कार्यक्रमसम्बन्धी विस्तृत विवरण पछि प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।
मनोनयन दर्ताको मिति तय भएसँगै कांग्रेसको १५औँ महाधिवेशनमा सभापति, पदाधिकारी तथा केन्द्रीय सदस्यका आकाङ्क्षीहरूको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। विभिन्न पदका आकाङ्क्षीहरूले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ।
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिहरूलाई निर्धारित समयभित्र उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न सूचित गरेको छ।

स्वास्थ्य कक्ष स्थापना, ३० स्वास्थ्यकर्मी रहने
१५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिने महाधिवेशन आयोजक समितिले जनाएको छ।
समितिअन्तर्गतको स्वास्थ्य उपसमितिका संयोजक डा. केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको हो। पाँच वटा कक्ष रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने जानकारी उनले दिए।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीका अनुसार हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुनेछ। डेस्कमा आठ जना चिकित्सक, पारामेडिक्स ( आपत्कालीन स्वास्थ्य सेवाकर्मी) तथा नर्सहरू रहनेछन्। मधुमेह, उच्च रक्तचापको जाँचसहित सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निःशुल्क सेवा प्रदान गरिनेछ।

यसैगरी प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र वसुन्धारामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको डा. केसीले बताए।

त्यसका लागि महाधिवेशनस्थलमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ। यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा स्वास्थ्यकर्मीलाई ‘अन कल ड्युटी’को व्यवस्थासमेत गरिएको छ। होटलमा रहेको अवस्थामा प्रतिनिधिलाई कुनै समस्या परेमा त्यहीँ पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको जनाइएको छ।