काठमाडौं। नवलपरासीको विनयी त्रिवेणी-२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
नेपालगञ्जबाट काठमाडौं आइरहेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएको नेपाल प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा दुई यात्रु सकुशल छन्।
दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते हुनेमा गोरखा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछाम मंगलसेन-६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा-१ की २० वर्षीया आकृति, बाजुरा स्वामीकार्तिक-५ का ३२ वर्षीय पवन बूढा, बर्दिया राजापुर-९ का २८ वर्षीय सञ्जय थारु र बाजुरा स्वामीकार्तिक-१ का २५ वर्षीय प्रेम बम छन्।
त्यस्तै, ललितपुरका २९ वर्षीय अनोज खत्री, बर्दिया बाँसगढी-७ का ३६ वर्षीय लालबहादुर कार्की, नेपालगञ्ज-१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यान वनगाड कुपिण्डे-१ का २१ वर्षीय अनिल बुढाथोकी घाइते भएका छन्।
घाइतेमध्ये अस्लाम भगवानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्यको अवस्था सामान्य छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमनसिंह रानाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेलाई उपचारार्थ मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पठाइएको जनाएको छ।