BIZMANDU
www.bizmandu.com

आर्थिक कूटनीतिलाई देशको समग्र विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्छ : शिशिर खनाल

२०८३ असोज १६

आर्थिक कूटनीतिलाई देशको समग्र विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्छ : शिशिर खनाल
आर्थिक कूटनीतिलाई देशको समग्र विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्छ : शिशिर खनाल


काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्।

Vigo
GBIME
Tata

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल अफेयर्सले शुक्रबार गरेको कार्यक्रममा परराष्ट्रमन्त्री खनालले आर्थिक कूटनीतिलाई देशको समग्र विकास रणनीतिको अभिन्न अंग बनाउनुपर्ने बताए।

उनले विदेश नीतिलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जनाजस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।

परराष्ट्र नीतिले देशको आर्थिक रूपान्तरण, उत्पादन वृद्धि र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

‘बदलिँदो विश्व अर्थव्यवस्था, क्षेत्रीय प्रतिस्पर्धा र भू-राजनीतिक परिस्थितिका बीच नेपालले आफ्नो कूटनीतिक सम्बन्धलाई आर्थिक अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ’ भन्दै मन्त्री खनालले यसका लागि विदेशस्थित नेपाली नियोगहरूलाई व्यापार, लगानी र आर्थिक सहकार्यका सक्रिय प्रवर्द्धकका रूपमा परिचालन गर्न आवश्यक रहेको बताए।

आर्थिक कूटनीति राज्यका सबै निकाय, निजी क्षेत्र, उद्यमी, व्यवसायी र प्रवासी नेपाली समुदायको साझा प्रयासबाट अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले आर्थिक कूटनीतिमा राष्ट्रिय प्राथमिकता, संस्थागत समन्वय र परिणाममुखी कार्यशैली आवश्यक रहेको बताए।

‘विदेश नीति निर्माण र कार्यान्वयनमा आर्थिक पक्षलाई प्राथमिकताका साथ समेट्दै कूटनीतिक उपलब्धिलाई ठोस आर्थिक परिणामसँग जोड्नुपर्छ,’ उनले भने, ‘यसका लागि सम्बन्धित सरकारी निकायबीच सहकार्य, निजी क्षेत्रसँग नियमित संवाद र विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि आवश्यक छ।’

मन्त्री खनालले निर्यात क्षमता विस्तार र अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको पहुँच बढाउन पनि आर्थिक कूटनीति उपयोगी हुनुपर्ने बताए।

नेपाली वस्तु तथा सेवाको बजार पहिचान, व्यापारिक सम्बन्ध विस्तार र आर्थिक साझेदारी विकासमा विदेशस्थित नियोगहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ। उनले पर्यटक आगमन वृद्धि गर्न कूटनीतिक माध्यमको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए।