काठमाडौं I जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना अनुसार राजधानीमा ३ हजार ५०६ जना प्रहरी परिचालन गर्ने भएको छ।
आजबाट कार्तिक ३० गतेसम्म यो योजना लागू हुने प्रहरीले जनाएको छ। चाडपर्वमा हुने दुर्घटना, अपराध लगायत गतिविधि न्यूनिकरणको लागि योजना लागू गरिएको एसपी दान बहादुर थापाले बताए।
चाडपर्वमा नक्कली नोट कारोबार, चोरी, लुटपाट, जुवा, हत्या लगायतका घटना धरै हुने भएकाले सादा पोशाक, तालिम प्राप्त कुकुर प्रविधको प्रयोग गरेर अपरेसन गर्ने प्रहरीले जनाएको छI
‘विगतका घटना हेरेर सुरक्षा योजना बनाएका छौं,’ एसपी थापाले भने।
बैंक, किनमेल क्षेत्र, बसपार्क, खसी बजार, बसपार्क, सपिङ मल, सार्वजनिक क्षेत्रमा प्रहरीले बढी निगरानी गर्ने उनले बताए।
त्यस्तै, सुरक्षाका लागि तीन थान ड्रोन परिचालन गरिने भएको छ। साथै, १ हजार २०० सीसी क्यामरा पनि जडान गरिएका छन्।
‘९८ ठाँउमा प्रहरी टोलीले कभर गर्नेछ। १६६ मोबाइल टोली परिचालन हुनेछ। आवश्यकता अनुसार थप १९० जना प्रहरी स्ट्यान्डबाई राखिएको छ,’ उनले भने।
कुनै घटनाबारे जानकारी दिन फोन गरेको ५ देखी १० मिनेटसम्ममा घटनास्थल पुग्ने गरि टोली व्यवस्थापन गरिएको जनाइएको छ।