काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कानुन परिवर्तन गरेर त्यसबाट विकास निर्माण र लगानीको वातावरण निर्माण गर्न खोजेको बताएका छन्।
नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी कानुनी सुधार परामर्श कार्यशाला गोष्ठीमा उनले भने, ‘ऐन भनेको देशको ऐना हो। ऐनले जस्तो परिकल्पना गरेको छ, हाम्रो समाज, विकास निर्माण, लगानी त्यस्तै छ। हामीले यसलाई बदलेर उत्कृष्ट बनाउन खोजेका छौं।’
उनले खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीको सुझाव नसमेटिएको स्वीकारे। ‘किनभने हामी डिपार्चर गर्न खोजेका थियौं, उहाँहरूको सुझाव जहाँको त्यहीँको थियो। अहिले खरिद ऐन मानक बनेको छ। हामीले निर्माण सामग्री सस्तो हुनेगरी कानुन बनाउनु छ। यो कसरी हुनसक्छ भनेर निजी क्षेत्रले सुझाव दिनुपर्यो,’ लम्सालले भने।
निजी क्षेत्रले छुट र अनुदानमात्रै माग्न नहुने उनको भनाइ थियो। ‘भारतमा भन्दा कसरी सस्तो बनाउने त्यो सोच्नुस्। अबको कानुनमा ‘हुनेछ’, ‘गर्नेछ’ जस्ता बिचौलियालाई सहज हुने शब्द रहनेछैन। ‘हुनुपर्नेछ’, ‘गर्नैपर्नेछ’ जस्ता शब्द हुनेछन्। हामीले पोलिसी डिपार्चर गर्न खोजेका छौं। यो सबैले बुझ्नु पर्छ,’ उनले भने।