BIZMANDU
www.bizmandu.com

व्यापारिक मलमा लाग्यो दसैं, कपडादेखि जुत्तामा ७० प्रतिशतसम्म छुट, बम्पर उपहार अलग्गै

२०८३ असोज १५

व्यापारिक मलमा लाग्यो दसैं, कपडादेखि जुत्तामा ७० प्रतिशतसम्म छुट, बम्पर उपहार अलग्गै
व्यापारिक मलमा लाग्यो दसैं, कपडादेखि जुत्तामा ७० प्रतिशतसम्म छुट, बम्पर उपहार अलग्गै


काठमाडौं। उपत्यकाका ठूला सपिङ मलबीच ग्राहक तान्ने होड सुरु भएको छ। उनीहरुले दसैंका लागि भारी छुटसहितका अफर ल्याएका छन्।

Vigo
GBIME
Tata

बर्सेनि चाडपर्वमा ग्राहक आकर्षित गर्न विशेष छुट, उपहार र लक्की ड्रसहितका योजना ल्याउने मलहरुले यस वर्ष ७० प्रतिशतसम्म छुट दिएका छन्। त्यसमा पनि बम्पर उपहार पनि राखेका छन्।

उपत्यकाका सिभिल मल, काठमाडौं मल, सिटी सेन्टर, बिजी मल, आइप्लेक्स मल, लबिम मल लगायतले दसैंलक्षित अफरमार्फत ग्राहक तान्ने प्रतिस्पर्धामा छन्। कपडा, जुत्ता, ब्याग तथा घरायसी सामान खरिदमा छुटसँगै विभिन्न उपहार पनि दिएका छन्।

सुन्धारास्थित सिभिल मलमा असोज १० गतेदेखि नै दसैंलक्षित अफर सुरु भइसकेको छ। मलका महाप्रबन्धक विश्वप्रकाश मास्केका अनुसार गत वर्षकै ढाँचामा अफर सञ्चालन गरिएको छ। ‘पहिलेभन्दा विशेष अफर छैन। सामान खरिद गर्दा लक्की ड्रमार्फत उपहार दिने व्यवस्था गरिएको छ,’ उनले भने।

मास्केका अनुसार मलमा नयाँ उपहारका सामग्री थप्ने तयारी भइरहेको छ। साथै, यसपटक विगतभन्दा फरक किसिमको सजावट गर्ने योजना पनि बनाइएको छ। ‘हामीले चाडपर्वलक्षित अफरका लागि एक महिनाअघिदेखि नै तयारी गरेका थियौं। तर देशमा विभिन्न घटना भएपछि यसपटक पहिलेभन्दा ढिला अफर सुरु गरेका हौं,’ उनले भने।

सिभिल मलका पसलमा अधिकतम ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। एक हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले लक्की ड्र कुपन पाउनेछन्।

कुपनमार्फत टिभिएस जुपिटर ११० स्कुटर, बाल्ट्राका होम एप्लायन्सेस, डायमण्ड रिङ, होलिडे प्याकेजलगायतका उपहार राखिएका छन्। मलको दसैं अफर असोज १० देखि कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।

कमलपोखरीस्थित सिटी सेन्टरमा भने दसैंलक्षित अफरको तयारी भइरहेको छ। मलका प्रवन्धक कृष्ण भट्टराईका अनुसार बाढीपहिरोलगायतका घटनाका कारण यसपटक मलमा ठूला इभेन्ट आयोजना गरिने छैन। ‘यसपटक यहाँ किनमेल गर्नेलाई लक्की ड्रमार्फत बम्पर उपहार दिने तयारी भइरहेको छ,’ उनले भने।

उनका अनुसार बम्पर उपहारमा के–के राख्ने भन्ने टुंगो लाग्न बाँकी छ। ‘उपहारका सामग्रीबारे तयारी भइरहेको छ। अबको केही दिनमा त्यसको टुंगो लाग्छ,’ उनले भने। यसअघि मलमा आउने ग्राहकलाई समेत लक्की ड्रमा सहभागी गराइन्थ्यो। पाँच सय रुपैयाँभन्दा बढीको सामान खरिदमा कुपन दिने व्यवस्था थियो।

यसपटक भने एक हजार रुपैयाँभन्दा बढीको खरिदमा मात्रै कुपन उपलब्ध गराइनेछ। कुपनमार्फत बाइक, स्कुटर, इलेक्ट्रोनिक सामान तथा विदेश भ्रमणका उपहार राख्ने तयारी गरिएको भट्टराईले बताए।

जमलको विश्वज्योति, गोंगबुको बिजी मल र चाबहिलको केएल टावरले पनि दसैंलक्षित अफर ल्याउने तयारी गरिरहेका छन्। व्यवसायीका अनुसार दसैं नजिकिँदै जाँदा सपिङ मलमा ग्राहकको चहलपहल बढ्न थालेको छ।

अफर सुरु भइसकेका मलमा ग्राहकको फुटफलसमेत बढ्न थालेको उनीहरुको भनाइ छ। सामान्यतः सपिङ मलले दसैंअघि सुरु गरेका यस्ता अफर छठसम्म सञ्चालन गर्ने गरेका छन्।