BIZMANDU
www.bizmandu.com

एनपीएल प्रसारणमा हिमालय स्पोर्ट्सले रेड बुललाई बनायो टाइटल स्पोन्सर, अरु साझेदार कुन-कुन?

२०८३ असोज १५

एनपीएल प्रसारणमा हिमालय स्पोर्ट्सले रेड बुललाई बनायो टाइटल स्पोन्सर, अरु साझेदार कुन-कुन?
एनपीएल प्रसारणमा हिमालय स्पोर्ट्सले रेड बुललाई बनायो टाइटल स्पोन्सर, अरु साझेदार कुन-कुन?


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि हिमालय स्पोर्ट्सले रेड बुललाई टाइटल स्पोन्सर बनाएको छ। यसबाहेक अन्य साझेदारहरु पनि घोषणा गरिएको छ।

Vigo
GBIME
Tata

हिमालय स्पोर्ट्सको प्रसारणमा बजाज पल्सर ‘इन एसोसिएसन विथ’ पार्टनर, प्रो स्टाइल र नेपाल लाइफ इन्स्योरेन्स ‘पावर्ड बाइ’ पार्टनर तथा प्रोटोन ‘ड्रिभन बाइ पार्टनर’का रूपमा जोडिएका छन्। त्यस्तै एसियन पेन्ट्स, सोयम नुडल्स र हिमस्टार सह-प्रायोजकका रूपमा छन्।

हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले नेपाली टेलिभिजन उद्योगमा खेलकुद सामग्रीमा बढ्दो लगानीले नयाँ व्यावसायिक सम्भावना सिर्जना गरिरहेको बताए।

ठूला अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रसारणले दर्शक, विज्ञापनदाता र ब्रान्डलाई खेलकुद सामग्रीसँग जोड्ने नयाँ आधार तयार गरेको उल्लेख गर्दै उनले एनपीएलमा देखिएको व्यावसायिक चासो नेपाली खेलकुद तथा प्रसारण उद्योगका लागि सकारात्मक संकेत भएको बताए।

हिमालय टीभीले १४ करोड ६४ लाख रुपैयाँमा लिनियर टीभीको अधिकार बिड गरेको थियो।

भुसालले खेलकुदमा गरिएको लगानीलाई एउटा प्रतियोगिता वा सिजनमा मात्र सीमित नराखी दीर्घकालीन कन्टेन्ट इकोसिस्टम निर्माणको हिस्सा बनाउनुपर्ने बताए।

उनले नेपाली क्रिकेटको सम्भावना र गुणस्तरीय प्रसारणप्रतिको हिमालय स्पोर्ट्सको दृष्टिकोणमा विश्वास गर्ने साझेदारहरू साथमा हुनु गौरवको विषय भएको भन्दै रेड बुललाई टाइटल स्पोन्सरका रूपमा सार्वजनिक गरे।

सारस बेभरेजे प्रालिका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले रेड बुलले नेपालमा ग्रासरुटदेखि ठूला खेलकुद आयोजनासम्म लगानी गर्दै आएको बताए।

हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले कम्पनीले मनोरञ्जनसँगै खेलकुदमा पनि दीर्घकालीन कन्टेन्ट इकोसिस्टम निर्माण गरिरहेको बताए। हिमालय स्पोर्ट्सले एनपीएल सिजन-३ को टेलिभिजन प्रसारण अधिकार प्रतिस्पर्धात्मक प्रक्रियामार्फत हासिल गरेको हो।

कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का पनि उपस्थित थिए।