काठमाडौं। एसियन गेम्सअन्तर्गत क्रिकेटतर्फको स्वर्ण पदकका लागि भारत र पाकिस्तान भिड्ने भएका छन्। आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले श्रीलंकामाथि १२४ रनको फराकिलो जित निकालेसँगै फाइनलको समीकरण पूरा भएको हो।
जापानको कोरोगी स्पोर्ट्स पार्कमा टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। भारतका लागि इशान किसनले सर्वाधिक अविजित ८० रन बनाउँदा वैभव सूर्यवंशीले ३८ तथा कप्तान श्रेयस ऐय्यरले १३ रन बनाए।
जवाफी ब्याटिङमा उत्रिएको श्रीलंका ९.५ ओभरमा ४५ रन बनाउँदै अलआउट भयो। शीर्षक्रमका तीन ब्याटर खाता नखोली फर्किँदा नुवानिन्दु फर्नान्डोले सर्वाधिक १५ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको रन नै बनाएनन्।
बलिङमा जसप्रीत बुमराह, अक्षर पटेल र अभिषेक शर्माले समान २ विकेट लिँदा वासिङटन सुन्दरले १ विकेट लिए।
योसँगै फाइनलमा भारतको भेट पाकिस्तानसँग हुने भएको छ। यसअघि पहिलो खेलमा बंगलादेशलाई हराएर पाकिस्तान फाइनलमा पुगेको थियो। फाइनल खेल शनिबार हुनेछ।
नेपाली टोलीले पनि समूह विजेता बन्दै क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो। क्वाटरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण सुरु नै हुन सकेन। यसमा वरीयताका आधारमा श्रीलंका खेल्दै नखेली सेमिफाइनल पुगेको थियो।