काठमाडौं। दसैं नजिकिएसँगै घरजग्गा किनबेच बढ्न थालेको छ। काठमाडौंलगायत शहरी क्षेत्रमा घरजग्गा जोड्नेहरु ह्वात्तै बढेका छन्।
व्यवसायीहरुका अनुसार अहिले घरजग्गा हेर्नेदेखि बैना गर्ने र पास गर्ने क्रम बढेको छ। भक्तपुर क्षेत्रका कारोबारी राम घले पछिल्लो हप्तादेखि चाँगुनारायण, सुडाल, कालामसी क्षेत्रमा जग्गा देखाउन भ्याइनभ्याई रहेको बताउँछन्। ‘अहिले बिहान ७ नबज्दै फोन आउँछ। साँझ ५ बजेसम्मै फिल्डमा जग्गा हेर्न आउँछन्,’ घलेले भने।
उनका अनुसार पहिले र अहिलेको ग्राहकमा फरक देखिएको छ। अघिल्लो महिनासम्म जग्गा हेर्न पुग्नेहरु अनेक बहानाबाजी गरेर फर्किन्थे। उनीहरु जग्गा चाहियो भनी दोहोर्याएर आउँदैनथे। ‘अहिले जग्गा हेर्न आउनेमध्ये अधिकांशले बैना गरिहाल्ने र किनिहाल्ने गरेका छन्,’ घलेले भने।
ललितपुरको फर्सिडोल क्षेत्रमा पनि पछिल्लोपटक घरजग्गा कारोबार बढ्दो क्रममा छ। धानदेखि तरकारी खेती हुने यो क्षेत्रमा अहिले प्लटिङदेखि व्यक्तिगत रुपमा जग्गा किनबेच बढेको छ।
‘अहिले प्लटिङमा पनि जग्गा किन्ने आइरहेको देखिन्छ। स्थानीयको खेतबारी पनि सानोसानो टुक्रा बेचिरहेको देखिन्छ,’ स्थानीय रवि डंगोलले भने।
काठमाडौंबाट १० किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणाधीन रहेका कारण जग्गा किन्न मानिसहरु आकर्षित भएको रविको बुझाइ छ।
टोखा, गोलढुंगा र तारकेश्वर क्षेत्रमा पनि घरजग्गा कारोबार बढेको छ। ती क्षेत्रमा घरजग्गा खोज्नेहरु दिनदिनै बढिरहेका छन्। भदौ १० गते भोटेकोशी-त्रिशुली नदीमा बाढीपछि ती क्षेत्रका कतिपय सुरक्षित स्थान खोज्दै टोखा, गोलढुंगा, तारकेश्वर लगायत क्षेत्रमा बसाइ सर्न थालेका छन्। ‘बाढीपछि सरकारले सुरक्षित बासको योजना ल्याउने भने पनि केही भएको छैन। त्यसैले हामी बाढी प्रभावितहरु अहिले टोखा, गोलढुंगा, तारकेश्वर क्षेत्रमा आएर बस्न थालेका छौं,’ नुवाकोटको बेत्रावतीमा घर बाढीमा परेका विक्रम थापाले भने।

बाढीमा परी जयजेथा गुमाएकाहरु कोही आफन्तकोमा शरण लिएर बसेका छन्। बैंकमा केही रकम बचत भएकाहरु जग्गा लिएर सानो ट्रस्ट बनाएर बस्न थालेको थापाले बताए।
ती क्षेत्रमा अहिले घरजग्गाको मूल्यसमेत बढ्न थालेको रियल स्टेट एजेन्टहरु बताउँछन्। १३ फिटे बाटो रहेको जग्गाको मूल्य प्रति आना २५ लाख पर्ने क्षेत्रमा अहिले ३५ लाखसम्म भन्न थालेका छन्।
घरजग्गा एजेन्ट तथा एजेन्सीहरूको महासंघका अध्यक्ष विनोद सुवेदीका अनुसार जग्गाको मूल्य स्थिर रहेकोले अहिले किनबेच बढेको छ।
‘दसैं नजिकिँदा किनेबचको माहोल अलि बनेको छ। रियल इस्टेटको प्राइस घट्दैन भनेर पनि अब किन्ने बढे। बैंक र सहकारीको कर्जाको ब्याज भार थाम्न नसक्नेले पनि यही बेला बेचिरहेका छन्,’ अध्यक्ष सुवेदीले भने।
उनका अनुसार अहिले जग्गाको लोकेसन हेर्ने भन्दा पनि २० देखि ३० लाखको रेन्जका जग्गा खोज्नेहरु धेरै छन्। विशेष गरी भक्तपुरको चाँगुनारायण क्षेत्र, काठमाडौंको तारकेश्वर, टोखा, साँखु, भीमढुंगा र बलम्बु तथा ललितपुरको सैंबु, चापागाउँ क्षेत्रमा यो रेञ्जका जग्गाको किनबेच बढेको छ।
‘जग्गा र घर गरी २ करोडदेखि साढे दुई करोडसम्म खर्च गर्ने गरी किनिरहेका छन्,’ अध्यक्ष सुवेदीले भने।
ठूला रियल इस्टेट कम्पनी सञ्चालकहरुले पनि घरजग्गा बजार एक्कासी आक्रामक भएको बताउन थालेका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेका अनुसार दसैंको मुख पारेर भृकुटीमण्डपमा भएको घरजग्गा मेलाले पनि किनबेच बढाउन सहयोग पुगेको बताए।

‘मेलापछि सोधपुछ बढेको छ। जग्गामा साइट भिजिट बढेको छ। एपार्टमेन्ट र घर बुक गर्ने पनि बढेका छन्,’ घिमिरेले भने।
घरजग्गा मेलामा अफर राखेका व्यवसायीले अहिले भने हटाएका छन्। तैपनि कारोबार बढिरहेको व्यवसायीहरु बताउँछन्। ‘दसैंमा केही न केही नयाँ जोडौं भन्ने हुन्छ। विदेशमा कमाएर फर्केकाले अहिले जग्गामा लगानी गर्न चाहेको देखिन्छ। देशभरका शहरी क्षेत्रमा लगानी यसरी नै लगानी बढ्न थालेको देखिन्छ,’ घिमिरेले भने।
घरजग्गा जोड्न चाहनेलाई लक्षित गर्दै बैंकहरुले सस्तो ब्याजदरका स्किम ल्याइरहेका छन्। सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई घर किन्न डेढ लाखसम्म सापटी दिने योजना सञ्चालन गरिरहेको छ।
घरजग्गा कारोबार भदौमा बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ। भदौमा देशभर ३७ हजार ४८७ लिखत पारित भएको छ। जबकि गत वर्ष २०८२/८३ को भदौमा २७ हजार ४९४ लिखत पारित भएको थियो।
भूमि प्रशासन कार्यालयले गत साउनमा ३३ हजार ९७८ लिखत पारित गरेका थिए।