काठमाडौं। नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ)ले देशको स्टार्टअप इकोसिस्टमलाई नयाँ उचाइमा पुर्याउने भन्दै द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन)सँग सम्झौता गरेको छ।
समझदारी पत्रमा सीएनआईवाईईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरेका छन्।
स्टार्टअप तथा उद्यमशीलताको वातावरणलाई थप सशक्त, लगानीमैत्री र देशव्यापी बनाउने उद्देश्यले टीएसएनसँग सम्झौता गरेको सीएनआईवाईईएफले जनाएको छ।
सम्झौता अनुसार सीएनआईवाईईएफ र टीएसएनले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन्।
‘फाउन्डर्स हबु’मार्फत प्रत्येक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्धन गर्ने लक्ष्य राखिएको छ। सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, सम्बन्ध विस्तार, लगानीको तयारी तथा सम्भावित लगानीकर्तासँग जोड्दै लगानीका नयाँ अवसर सिर्जना गरिने सीएनआईवाईईएफले जनाएको छ।
संस्थाका अनुसार यो सहकार्य काठमाडौंमा मात्र सीमित नरही देशका विभिन्न शहर तथा उदीयमान उद्यमशीलता केन्द्रमा विस्तार गरिनेछ। नवप्रवर्तन र उद्यमशीलताको पहुँच देशका विभिन्न भूगोलसम्म पुर्याइ स्थानीयस्तरमै नयाँ व्यवसाय र उद्यमी जन्माउने लक्ष्य रहेको सीएनआईवाईईएफले जनाएको छ।