काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष नितेशकुमार अग्रवालले नेपाली सेयर बजारमा माग कमजोर हुनु र कम्पनीहरुको नाफा घट्नु नै बजार सुस्त हुनुको मुख्य कारण भएको बताएका छन्।
आज अर्थ समितिमा उनले अन्य एसियाली देशको तुलनामा नेपालको बजार अझै पनि सस्तो नभएको उल्लेख गर्दै बजारको वर्तमान अवस्था र सुधारका उपायहरु प्रस्तुत गरेका थिए।
अग्रवालका अनुसार कोभिड-१९ पछि अनलाइन ट्रेड म्यानेजमेन्ट सिस्टमको पहुँच घरघरमा पुग्दा ठूलो संख्यामा साना लगानीकर्ताहरु बजारमा भित्रिएका हुन्। तर, धेरैजसो लगानीकर्ताहरु दीर्घकालीन लगानीभन्दा पनि अल्पकालीन नाफा कमाउने सोचका साथ आएको हुँदा पछिल्लो अवस्था निर्माण भएको उनले बताए।
त्यस्तै, तुलनात्मक रुपमा कम नियमन भएका कम्पनीहरुले ठूलो मात्रामा आइपीओ जारी गरे। यसबाट कम्पनीका संस्थापकहरुले आफ्नो सेयरको मूल्य बढाएर पैसा बाहिर लगे र अन्य आयोजनामा लगानी गरेको कारणले पनि अवस्था यस्तो बनेको उनले सुनाए।
अहिलेको आइपीओ बाँडफाँट नियम अनुसार १० कित्ता पाउने व्यवस्था र सुरुवाती कारोबारका कारण लगानीकर्ताहरुले कम्पनीको वित्तीय विवरण नै नहेरी आइपीओलाई गोलाप्रथाको रुपमा लिएकोले पनि परिस्थिति प्रतिकूल नभएको उनको तर्क थियो।
‘यसले गर्दा धेरै लगानीकर्ताको नगद दोस्रो बजारबाट मोडिएर प्रि-आइपीओतर्फ गयो र बजारमा नगदको अभाव भयो,’ उनले भने। त्यस्तै, पटक-पटकको खरिद बिक्रीमा लाग्ने पुँजीगत लाभकर र उच्च कारोबार खर्चका कारणले गर्दा पनि सेयर बजारबाट निरन्तर नगद बाहिरिएको उनको बुझाइ छ।
कोभिड-१९ पछि सूचीकृत लगभग सबै क्षेत्रका कम्पनीहरुको वित्तीय प्रदर्शनले पनि बजारमा प्रभाव परेको उनले सुनाए।
उनले अनुकूल परिस्थिति बजाउनका लागि लगानीकर्ताको विश्वास बढाउनुपर्ने बताए। राज्य र सम्बद्ध निकायका हरेक निर्णय पारदर्शी हुनुपर्ने र लगानीकर्तामा निरन्तर विश्वास जगाउने वातावरण बनाउनुपर्ने उनको धारणा थियो।
त्यस्तै, बजारमा नयाँ पुँजी भित्र्याउन विदेशमा रहेका नेपालीहरुलाई लगानीको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए। ‘यसका लागि राष्ट्रिय परिचयपत्र जस्ता प्रशासनिक झन्झट हटाउनुपर्छ र लगानी फिर्ता लैजाने प्रक्रिया सहज बनाउनुपर्छ,’ उनले भने।