महेन्द्रनगर। कञ्चनपुरको महाकाली नदीमा रहेको दोधारा-चाँदनी झोलुंगे पुलको एउटा पिल्लर भाँचिएको छ। पिल्लर भाँचिएपछि पुलबाट आवागमन बन्द भएको छ।
भीमदत्त नगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने उक्त पुलको दोधारातर्फको पिल्लर बुधबार बिहान नदीमा पानीको बहाव बढेसँगै भाँचिएको हो। पिल्लर भाँचिएपछि पुलको करिब ५ देखि ६ मिटर भाग माथितर्फ उठेकाले पैदल आवतजावत पनि जोखिमपूर्ण बनेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी टेकबहादुर रावतका अनुसार पिल्लर भाँचिएपछि तत्काल पुलबाट आवागमन रोकिएको छ। घटनापछि सुरक्षाका लागि उक्त क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको छ। झोलुंगे पुलको दोधारातर्फको ५-६ मिटर भागमाथि उठेको उनले बताए।
भीमदत्त-१३ का वडाध्यक्ष रामबहादुर बोहराका अनुसार बुधबार बिहान महाकाली नदीमा पानीको बेग बढ्दा पुलको पिल्लर भत्किएको हो। ‘आज बिहान पानीको बेगले पिल्लर भत्किएको हो,’ उनले भने। पुलको क्षति निरीक्षणका लागि प्राविधिक टोली बोलाइएको उनले जानकारी दिए।
करिब दुई दशकअघि निर्माण भएको यो झोलुंगे पुलले दोधारा-चाँदनीलाई महाकाली नदीपारिको भौगोलिक रूपमा अलग क्षेत्रबाट जिल्लाको सदरमुकाम तथा मुलुकको मूलधारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको छ। पुल बनेपछि दोधारा–चाँदनीका बासिन्दालाई महाकाली वारिपारि आवतजावतमा सुविधा थियो। रासस