काठमाडौं । युवालाई व्यावहारिक सीप प्रदान गरेर रोजगारका अवसरहरुसँग जोड्ने उद्देश्यका साथ सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले आयोजना गरेको मेला असोज २० गतेसम्म संचालन हुनेछ। उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रुपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।
मेलामा युवालाई उद्यमशीलतातिर आकर्षित गर्ने लक्ष्यका साथ ‘आजको युवा, भोलिको उद्यमी: सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल संचालन गरिनेछ।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको आयोजकले जनाएको छ।
आजै दिउँसो १२ बजेदेखि ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरु संचालन गरिने जनाइएको छ।
असोज १५ देखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू संचालन हुनेछन्।
त्यस्तै, मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरु निरन्तर जारी रहने जनाइएको छ।