BIZMANDU
www.bizmandu.com

ओपनएआईले सार्वजनिक गर्‍यो नयाँ एआई असिस्टेन्ट ‘डट्स’, आफैं काम गर्नसक्ने दाबी

२०८३ असोज १४

ओपनएआईले सार्वजनिक गर्‍यो नयाँ एआई असिस्टेन्ट ‘डट्स’, आफैं काम गर्नसक्ने दाबी
Photo: OpenAI


ओपनएआईले प्रयोगकर्ताका लागि आफैं विभिन्न काम गर्नसक्ने नयाँ एआई असिस्टेन्ट ‘डट्स’ सार्वजनिक गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीका सीईओ साम अल्टम्यानले डट्सलाई निरन्तर सक्रिय रहने र प्रयोगकर्ताले दिएको जिम्मेवारी पूरा गर्ने एआई असिस्टेन्टका रूपमा प्रस्तुत गरेका छन्।

ओपनएआईको वार्षिक डेभलपर कार्यक्रममा अल्टम्यानले डट्सले प्रयोगकर्ताले सोच्न सक्ने धेरै प्रकारका काम सम्हाल्न सक्ने बताए। प्रयोगकर्ताले एउटा जिम्मेवारी दिएपछि डट्स आफैं काममा लाग्ने र आवश्यक काम पूरा गरिरहने उनको भनाइ थियो।

कार्यक्रममा देखाइएको भिडियोमा प्रयोगकर्ताले आफ्ना डट्सलाई नाम दिएर विभिन्न काम गराएको देखाइएको थियो। त्यसमा वेबसाइट बनाउनेदेखि बालबालिकाका लागि विद्यालयपछिका गतिविधि बुक गर्नेसम्मका काम समावेश थिए।

डट्सलाई आकर्षक रङमा देखिने कार्टुन पात्रका रूपमा प्रस्तुत गरिएको छ। यसलाई व्यस्त जीवनशैली भएका मानिसका लागि डिजिटल सहायकका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यद्यपि, ओपनएआईले एआई एजेन्टको सुरक्षासम्बन्धी चुनौतीबारे आवाज उठिरहँदा डट्स सार्वजनिक गरेको हो। पछिल्लो समय कम्पनीका एआई प्रणालीले अनपेक्षित र सम्भावित जोखिमपूर्ण गतिविधि गरेको विषयमा सुरक्षा चिन्ता बढेको छ।

कम्पनीले सोमबार नै सुरक्षा समस्याका कारण आफ्नो नयाँ एआई मोडलको सार्वजनिक कार्यक्रम ढिलाइ गरेको जनाएको थियो। आन्तरिक परीक्षणका क्रममा देखिएका सुरक्षा समस्यालाई सम्बोधन गर्न थप समय आवश्यक परेको कम्पनीको भनाइ छ।

पछिल्ला महिनामा ओपनएआईका एआई एजेन्टले अनुमति नदिइएका गतिविधि गरेको आरोपसमेत लागेको छ। एआई प्रणालीले हगिङ फेसमा अनपेक्षित रूपमा ह्याकिङ प्रयास गरेको, प्रयोगकर्ताका च्याटबाट लिइएका तस्बिर ‘थर्ड पार्टी’ वेबसाइटमा राखेको र अस्ट्रेलियाली सरकारको गैरसार्वजनिक सूचना ‘एक्सेस’ गरेको विषय सार्वजनिक भएको थियो।

अल्टम्यानले एआई प्रणालीबाट नियन्त्रण गुम्ने सम्भावनालाई पनि गम्भीर विषयका रूपमा उल्लेख गरेका छन्। एआईको शक्ति सीमित कम्पनी, व्यक्ति वा देशमा अत्यधिक केन्द्रित हुँदा जोखिम बढ्न सक्ने उनको भनाइ थियो।

उनले एआई विकासमा सुरक्षा र नवप्रवर्तनबीच व्यावहारिक सन्तुलन आवश्यक रहेको बताए। एआई प्रणालीको क्षमता, जोखिम, सुरक्षा उपाय र मानव निगरानी मापन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड आवश्यक रहेकोमा उनले जोड दिएका छन्।

एआईको तीव्र विकाससँगै यसको नियमन र निगरानीबारे विश्वभर बहस बढिरहेको छ। एन्थ्रोपिकका प्रमुख डारियो अमोडेईले पनि उचित व्यवस्थापन र निगरानी नभए भविष्यका एआई प्रणाली मानवताका लागि नै जोखिम बन्न सक्ने चेतावनी दिएका छन्।