काठमाडौं। सरकारले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। नेपाल बीमा प्राधिकरणले असोज १२ मा प्रणालीको परीक्षण गरेको छ।
सर्भेयर खटाउने प्रक्रियालाई सुशासनमा आधारित बनाउन स्वचालित बनाउने उद्देश्यले उक्त प्रणाली विकास गरिएको हो। नयाँ स्वचालित प्रणालीका सम्बन्धमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका आइटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइँदैछ। त्यसपछि सर्भेयरलाई पनि स्वचालित प्रणालीसम्बन्धी तालिम दिइनेछ। प्रणालीमा पुनर्बीमा कम्पनीलाई पनि समेट्ने योजना छ।
सर्भेयरको विज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता तथा पोर्टफोलियोलगायतका आधारमा सर्भेयर छनोटलाई पारदर्शी बनाउने उद्देश्यले प्रणालीको विकास गरिएको हो। हाल सर्भेयर छनोट गर्दा वैज्ञानिक र पारदर्शी नहुने, एउटै सर्भेयरले बढी र कम काम पाउनेलगायतका गुनासो आउने गरेको सन्दर्भमा यो प्रणालीको विकासले महत्वपूर्ण हुने विश्वास लिइएको छ।
व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम गर्न पाउने व्यवस्था भए पनि उनीहरूले पाएको कामको प्रभावकारी तथ्यांक राख्न कठिन भइरहेको अवस्था छ। हाल प्रणालीमा ८८ जना संस्थागत र बाँकी व्यक्तिगत गरी ६८० सर्भेयरको तथ्यांक प्रविष्ट भइसकेको छ।
प्रणालीले बीमा दाबीको प्रक्रियामा समय र लागतसमेत घटाउने छ। अहिले कतिपय अवस्थामा सर्भेयर छनोटमा देखएको समस्या, पुनः मूल्याङ्कन गर्नुपर्ने, दाबी प्रक्रियामा ढिलाइ हुने वा ग्राहकसँग विवादसँग सम्बन्धित समस्या समाधानमा थप सहज हुनेछ।