BIZMANDU
www.bizmandu.com

मुग्लिन-पोखरा सडकको पश्चिम खण्ड दुई महिनाभित्र तयार हुने, निर्माण कार्य अन्तिम चरणमा

२०८३ असोज १३

मुग्लिन-पोखरा सडकको पश्चिम खण्ड दुई महिनाभित्र तयार हुने, निर्माण कार्य अन्तिम चरणमा
मुग्लिन-पोखरा सडकको पश्चिम खण्ड दुई महिनाभित्र तयार हुने, निर्माण कार्य अन्तिम चरणमा


काठमाडौं। मुग्लिन-पोखरा सडक आयोजना अन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

Vigo
GBIME
Tata

पूर्वाधार विकास मन्त्रालयले समस्या पहिचान गरी सम्बन्धित निकायसँग सहजीकरण गरेसँगै मुग्लिन-पोखरा सडकको पश्चिम खण्डको निर्माण कार्य अन्तिम चरणमा पुुगेको हो।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार जामुनेदेखि पोखरासम्मको ३८.४१ किलोमिटर सडक निर्माणको काम दुई महिनाभित्र सम्पन्न गरिनेछ ।

मन्त्रालयको सहजीकरणमा विद्युत् पोल स्थानान्तरणको काम सम्पन्न भएको छ भने मादी पुलको पहुँच सडकका लागि जग्गा प्राप्तिको समस्या समाधान गरिएको छ। त्यस्तै, दमौली डिभिजन कार्यालको नयाँ भवन निर्माण गर्ने सहमति जुटाएर प्रक्रिया अघि बढाइएको छ।

मन्त्री लम्सालका अनुसार मादी आर्क ब्रिजको ३१० मिटर लामो संरचना निर्माण सम्पन्न भएको छ। अब फिनिसिङ र पहुँच सडक निर्माणको काम बाँकी छ। त्यस्तै, १९० मिटर लामो सेती पुलको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ। यो पुलको बाँकी काम आगामी अप्रिलसम्म सम्पन्न गर्ने तालिका छ।

एसियाली विकास बैंकको सहयोगमा स्तरोन्नति भइरहेको मुग्लिन-पोखरा सडक आयोजना अन्तर्गत पश्चिम खण्डमा विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँच मार्गमा जग्गा प्राप्तिको समस्या र दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरणमा विवादले काम प्रभावित भएको थियो।

आयोजनाको पूर्वी खण्ड अर्थात आँबुखैरेनीदेखि जामुनेसम्मको निर्माण कार्य यसअघि नै सम्पन्न भइसकेको छ।

मुग्लिनदेखि आँबुखैरेनीसम्मको करिब ८ किलोमिटर सडकखण्डमध्ये करिब ४ किलोमिटर सडक मर्स्याङ्दी नदी पारिबाट निर्माण गर्ने गरी ठेक्का प्रक्रिया सुरु गरिएको छ ।