BIZMANDU
www.bizmandu.com

बढ्दो मागले उपत्यकामा बिजुली संकटको जोखिम: ७०० मेगावाट धान्ने पूर्वाधार, पिक डिमान्ड ६०० नाघिसक्यो

२०८३ असोज १३

बढ्दो मागले उपत्यकामा बिजुली संकटको जोखिम: ७०० मेगावाट धान्ने पूर्वाधार, पिक डिमान्ड ६०० नाघिसक्यो
बढ्दो मागले उपत्यकामा बिजुली संकटको जोखिम: ७०० मेगावाट धान्ने पूर्वाधार, पिक डिमान्ड ६०० नाघिसक्यो


काठमाडौं। बढ्दो माग र धेरै पुरानो पूर्वाधारका कारण काठमाडौं उपत्यकामा विद्युत आपूर्ति व्यवस्थापन संकटको डिलमा पुगेको छ। बढ्दो माग अनुसार पूर्वाधार थप्न नसक्दा कुनै पनि बेला ‘ब्ल्याक आउट’को सम्भावना बढेको हो।

Vigo
GBIME
Tata

हालको मौजुदा प्रसारण तथा वितरण पूर्वाधारले काठमाडौंमा बढीमा ७०० मेगावाटसम्म मात्रै बिजुली आपूर्ति गर्न सक्छ। उपत्यकामा बिजुलीको पिक डिमान्ड ६०० मेगावाट नाघिसकेको छ। बिजुलीको माग बढिरहेको अहिलेको अवस्थामा थप १०० मेगावाटको डिमान्ड पार गर्दा पूर्वाधारहरुले थेग्न नसक्ने जानकारहरु बताउँछन्।

उपत्यकामा विद्युतीय उपकरण (इन्डक्सन, हिटर, गिजर, एसी)को प्रयोगमा वृद्धि र द्रुत शहरीकरणले प्रणालीमा चर्को चाप परेको छ। माग र मौजुदा क्षमताको अन्तर निकै साँघुरिँदै जाँदा पटकपटक ‘सिस्टम कोल्याप्स’ भइरहेको छ।

उपत्यकामा बिजुली भित्र्याउन हाल ७ वटा प्रसारण लाइन संचालनमा छन्। जसमा ६६ केभीका ४ वटा, १३२ केभीका २ वटा छन् भने २२० केभीको एउटा प्रसारण लाइन छ।

६६ केभी प्रसारण लाइनमा कुलेखानी-स्यूचाटार, त्रिशूली-बालाजु, देवीघाट-चपली र सुनकोसी-भक्तपुर, १३२ केभी प्रसारण लाइनमा कुलेखानी-मातातीर्थ-स्युचाटार र लामासाँघु-भक्तपुर तथा २२० केभीमा मार्किचोक-मातातीर्थ छन्।

यी प्रसारण लाइनले उपत्यकामा करिब ७०० मेगावाटसम्म बिजुली भित्र्याउन सक्छ। हिउँदको समयमा उपत्यकामा बिजुलीमा माग ह्वात्तै बढ्ने गरेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पूर्वाधारका कारण उपत्यकामा बिजुली व्यवस्थापनमा चुनौती थपिएको स्वीकार गरे।

‘उपत्यकामा बिजुली आपूर्ति चुनौतीपूर्ण छ। त्रिशूली थ्री बी हब सवस्टेसनबाट हिउँदमा पनि २०० मेगावाट आउँथ्यो। भोटेकोशी बाढीका कारण त्यो बिजुली हामीले अन्यत्रबाट ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘काठमाडौंमा जोड्ने मुख्य लाइन भनेको मर्स्याङ्दी स्युचाटार पुरानो छ। मार्किचोबाट मातातीर्थ आउँछ। अर्को भनेको लामासाँघु हुँदै भक्तपुरबाट बिजुली आउँछ। २/४ वटा लाइन हो। अब त्यो लाइनबाट कति बिजुली ल्याउन सकिन्छ भन्ने हो।’

उनका अनुसार ढल्केबरबाट हेटौंडाको ४०० केभी प्रसारण लाइन सञ्चालनमा ल्याउन सके प्रणालीलाई सहयोग पुग्नेछ।

‘ढल्केबरबाट हेटौंडाको ४०० केभी प्रसारण लाइन अन्तिम चरणमा पुगेको छ। हामीले अब २ वटा टावर उठाउँदै छौं। त्यो प्रसारण लाइन दसैंलगत्तै सम्पन्न गर्ने लक्ष्य छ। त्यो प्रसारण लाइन बन्दा धेरै सहयोग हुन्छ,’ उनले भने।

‘उपत्यकामा तीन हजार मेगावाट धान्ने संरचना चाहिन्छ’

प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक राजन ढकालका अनुसार उपत्यकामा ३ हजार मेगावाटको विद्युत आपूर्ति गर्ने संरचना बनाउन आवश्यक छ।

‘हामीले उपत्यकामा ३ हजार मेगावाट बिजुली सप्लाई गर्ने संरचनाको तयारी गरिरहेका छौं,’ उनले भने, ‘त्यसका लागि उपत्यकामा बिजुली ल्याउने स्रोतमा समस्या छ। पश्चिमतर्फबाट ल्याउँदा राष्ट्रिय निकुञ्जको कारण अप्ठेरो छ। पूर्वतर्फबाट त्रिभुवन विमानस्थलको सुरक्षाका कारण ल्याउन सकिन्न।’

३ हजार मेगावाट बिजुली आपूर्ति गर्ने संरचना निर्माणका लागि करिब ४० देखि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। ढकालले हालको संरचनाले अर्को वर्षको वर्षामै लोड व्यवस्थापन चुनौतीपूर्ण हुने बताए।

‘अहिलेको संरचनाले अब १/२ वर्षमात्र धान्न सक्छ। हामीले आगामी दिनका लागि सिस्टम अपग्रेड गर्नुको विकल्प छैन। हामीले त्यहीअनुसार प्लान बनाएर काम गरिरहेका छौं,’ उनले भने।