काठमाडौं । मेटाले कर्पोरेट ग्राहकहरुलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवाहरू उपलब्ध गराउने उद्देश्यले नयाँ प्लेफर्म सुरु गरेको छ।
मेटाका सीईओ मार्क जुकरबर्गले ‘मेटा इन्टरप्राइज प्लेटफर्म’को घोषणा गरेका हुन्। उनले ‘सुपरइन्टेलिजेन्स’ ले सर्वसाधारण र व्यवसायहरुका लागि नयाँ तथा महत्वपूर्ण अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
‘मेटाले पहिले नै धेरै मानिसहरुलाई सेवा दिँदै आएको छ। सयौं मिलियन व्यवसायहरुलाई आफ्ना ग्राहकसम्म पुग्न सहयोग गरिरहेको छ। हामी हाम्रो व्यवसायको अर्को मुख्य आधार मेटा इन्टरप्राइज प्लेटफर्म सुरु गर्दैछौं। यसले व्यवसायहरुलाई एआईको प्रयोगमार्फत वृद्धि गर्न र नयाँ तरिकाले रुपान्तरण हुन सहयोग गर्नेछ,’ जुकरबर्गले भनेका छन्।
मेटा इन्टरप्राइज प्लेटफर्मको नेतृत्व भारतीय मूलका चिरन्तन देसाईले गर्ने उनले सामाजिक संजालमार्फत जानकारी दिएका छन्। देसाईले सिधै जुकरबर्गलाई रिपोर्ट गर्नेछन्।
मेटाका अनुसार देसाईसँग एआई, इन्फ्रास्ट्रक्चर, कर्पोरेट एप्लिकेसन र सुरक्षासम्बन्धी प्राविधिक ज्ञान रहेको छ। साथै, उनीसँग ’फुल स्ट्याक’ सफ्टवेयर सोलुसन निर्माणको अनुभव पनि छ।
यसअघि देसाईले डेटाबेस सफ्टवेयर कम्पनी ‘मंगोडीबी’ को अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसकेका छन्। त्यसअघि उनले वेब पूर्वाधार तथा सुरक्षा कम्पनी ‘क्लाउडफ्लेयर’मा प्रोडक्ट एन्ड इन्जिनियरिङ प्रमुखको भूमिका निभाएका थिए।
साथै, देसाईले ‘सर्भिसनाउ’ मा करिब ८ वर्ष बिताएका थिए। त्यहाँ उनी अध्यक्ष तथा मुख्य संचालन अधिकृतसम्म बनेका थिए।
‘मेटा इन्टरप्राइज प्लेटफर्मले आफ्नो एआई प्रविधिलाई त्यस्ता उत्पादन र सेवाहरुमा ढाल्नेछ। यसलाई कम्पनीहरुले आफ्नै व्यवसायका लागि प्रयोग गर्न सक्नेछन्,’ देसाईले भनेका छन्, ‘व्यवसाय विस्तारका लागि मेटालाई कम्पनीहरुको पहिलो रोजाइ बनाउनु नै हाम्रो लक्ष्य हो।’