BIZMANDU
www.bizmandu.com

कोचीको सडकमा एमजी हेक्टर टोमाहक इभी, पुरानो सहरदेखि ‘बाहुबली’को झरनासम्मको ड्राइभ

२०८३ असोज १३

कोचीको सडकमा एमजी हेक्टर टोमाहक इभी, पुरानो सहरदेखि ‘बाहुबली’को झरनासम्मको ड्राइभ
कोचीको सडकमा एमजी हेक्टर टोमाहक इभी, पुरानो सहरदेखि ‘बाहुबली’को झरनासम्मको ड्राइभ


बिहानको ४ बजेको थियो। सहर अझै निदाइरहेको थियो। तर हाम्रो यात्रा सुरु भइसकेको थियो। गन्तव्य थियो – भारतको दक्षिणी सहर कोची।

Vigo
GBIME
Tata

यात्राको उद्देश्य थियो, एमजीको नयाँ विद्युतीय एसयूभी ‘हेक्टर टोमाहक’ लाई सडकमा चलाएर यो गाडी कस्तो छ भन्ने ‘ड्राइभिङ एक्सपेरिन्स’ गर्नु।

एमजीका गाडीमा यो मोडल किन विशेष छ, किनभने यो एमजीको भारतीय कारखाना बनेको हो। नेपाली बजारका लागि भारतीय प्लान्टमा निर्मित गाडी ल्याएर बेच्न बिक्रेता कम्पनीलाई ढुवानी लागत किफायत पर्छ। उस्तै उस्तै भूगोल भएकाले भारतबाट भित्र्याउन जति सजिलो छ, त्यस्तो सजिलो अन्य मुलुकबाट ल्याउनुमा छैन।

एमजीको यो नयाँ मोडल नेपाली बजारमा बिक्री गर्न बिक्रेतालाई सहज हुन्छ। किनभने भारतमा भएको टेरेन्टहरु नेपालसँग मिल्छ। साथै भारतबाट स्पेयर पार्ट्सको विषयमा त्यस्तो ठूलो समस्या आउदैन। अर्को भनेको यो भारत मेड एमजीलाई अहिले फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले बिक्री गरिरहेको छ। जसले भारतबाट फोर्ड बाहिरिँदा पनि अहिलेसम्म नेपालमा सर्भिस र स्पेयर पार्ट्समा कुनै समस्या हुन दिएको छैन।

एमजीको एसयूभी पोर्टफोलियोमा ‘हेक्टर’ नाम नेपाली बजारका लागि पनि नयाँ होइन। तर ‘टोमाहक’ भने नयाँ पुस्ताको छुट्टै उत्पादनका रूपमा आएको छ। विद्युतीय एसयूभीको बजार विस्तार भइरहेका बेला एमजीले नयाँ आर्किटेक्चरमार्फत इभीसँगै हाइब्रिड प्रविधिलाई समेत एउटै उत्पादन रणनीतिमा अघि बढाउन खोजेको देखिन्छ।

तर हाम्रो कोची यात्रा भने यसको हाइब्रिड होइन, हेक्टर टोमाहक इभीको ड्राइभिङ अनुभव लिनका लागि थियो।

सेप्टेम्बर १७ को बिहान। घडीले ४ बजाएको थियो। हामी ६ जनाको नेपाली टोली दिल्लीका लागि निस्कियौँ। दिल्ली पुगेपछि बिहान ११ बजेको उडानबाट कोचीका लागि प्रस्थान गर्‍यौँ।

करिब ४ बजे कोचीमा अवतरण भयो। विमानस्थलबाट करिब एक घण्टाको ड्राइभपछि हामी होटल पुग्यौँ। होटलमा एमजी इन्डियाका प्रतिनिधिले स्वागत गरे। लामो यात्रापछि केही खानासँगै हाम्रो पहिलो भेट भयो-एमजी हेक्टर टोमाहक इभीसँग।

होटलको चौरमा राखिएको टोमाहकलाई नियाल्यौँ। डिजाइन, आकार र सडकमा यसको उपस्थितिले पहिलो नजरमै यो सामान्य कम्प्याक्ट एसयूभी नभएको संकेत गरिरहेको थियो।

तर गाडीलाई नजिकबाट हेर्ने समय धेरै थिएन। साँझ ७ बजे एमजीले टोमाहकबारे विस्तृत प्रोडक्ट ब्रिफिङ राखेको थियो।

त्यहाँ गाडीका विभिन्न पक्षसँगै भोलिपल्ट हुने टेस्ट ड्राइभको रुटबारे जानकारी दिइयो। होटलबाट सुरु हुने टेस्ट ड्राइभको रुट करिब ८२.२ किलोमिटरको थियो।

एमजीले कोची वरपरका विभिन्न सडक, गाउँ, घुम्ती, बम्पी रोड र केही अफरोड खण्डसमेत समेटेर रुट तयार गरेको थियो। उद्देश्य थियो – टोमाहकलाई सकेसम्म विभिन्न अवस्थाको सडकमा चलाएर अनुभव गर्नु।

कोचीको स्वादसँगै नेपालबारे एमजीको चासो

प्रोडक्ट ब्रिफिङपछि हामीले कोचीको स्थानीय खानाको स्वाद पनि लियौँ। इडली, साम्बरदेखि विभिन्न समुद्री परिकारसम्मको स्वाद लिने अवसर मिल्यो।

त्यही क्रममा एमजी इन्डियाको अन्तर्राष्ट्रिय टोलीका एक प्रतिनिधिसँग पनि कुराकानी भयो। छलफलमा एउटा महत्त्वपूर्ण विषय थियो – नेपालको इभी बजार।

नेपालमा विद्युतीय गाडीको बजार कसरी विस्तार भइरहेको छ, आगामी दिनमा ईभीको सम्भावना कस्तो छ र नेपालमा समय-समयमा परिवर्तन भइरहने कर नीतिले विद्युतीय गाडीको बजारमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा उनीहरुको चासो थियो। विशेषगरी नेपालमा इभीमा हुने कर संरचनाबारे एमजीको अन्तर्राष्ट्रिय टोलीले पनि चासो र चिन्ता व्यक्त गरे।

यही कुराकानी र खानपिन गर्दै रातको करिब ११ बज्यो। त्यसपछि भोलिपल्टको मुख्य दिन-टोमाहक इभी टेस्ट ड्राइभमा जाने तालिका थियो।

बिहान ५ बजे उठेर सुरु भयो टेस्ट ड्राइभ

भोलिपल्ट बिहानै करिब ५ बजे उठ्यौँ। हलुका ब्रेकफास्ट गरेर हामी टेस्ट ड्राइभका लागि तयार भयौँ। नेपाली टोलीका ६ जनालाई तीनवटा टोमाहक इभी उपलब्ध गराइएको थियो। प्रत्येक गाडीमा दुई/दुई जना।

करिब ६:४९ बजे फ्ल्याग अफ भयो।

एमजीको टोलीले हामीलाई रुट, नक्सा र इटिनरेरी उपलब्ध गराएको थियो। त्यही नक्सालाई फलो गर्दै हामी कोचीबाट बाहिरतर्फ लाग्यौँ।

हाम्रो गन्तव्य थियो – कोचीको हरियाली र प्लान्टेसन क्षेत्र हुँदै अथिराप्पिल्लीतर्फ जाने रुट।

अथिराप्पिल्ली झरनाका कारण चर्चित क्षेत्र हो। ‘बाहुबली’ जस्ता भारतीय चलचित्रमा देखाइएका प्राकृतिक दृश्यसँग समेत यो क्षेत्र जोडिन्छ। त्यसैले टेस्ट ड्राइभ केवल गाडी चलाउने अनुभव थिएन, कोचीको फरक भूगोल र प्राकृतिक वातावरण बुझ्ने अवसर पनि थियो।

गाडी चलाउन थालेपछि सबैभन्दा पहिले ध्यान गएको विषय थियो यसको ठूलो इन्फोटेनमेन्ट डिस्प्ले।

स्क्रिन साँच्चै ठूलो देखिन्छ। म्युजिक सिस्टम, नेभिगेसन, गाडीका विभिन्न जानकारीसँगै साइड क्यामेराको डिस्प्ले पनि यही स्क्रिनमा देखिन्थ्यो।

टेस्ट ड्राइभको क्रममा नेभिगेसन निरन्तर प्रयोग गरिरहेका थियौ। स्क्रिनमा म्याप हेर्दै ड्राइभ गर्नु सहज थियो। साइड क्यामेरा आवश्यक पर्दा त्यसको डिस्प्ले पनि उपयोगी देखियो।

कोचीका पुराना घरदेखि अथिराप्पिल्लीसम्म

कोची, जसलाई ‘कोचिन’ पनि भनिन्छ, भारतको दक्षिण-पश्चिम तटमा रहेको केरला राज्यको एउटा प्रमुख तटीय सहर हो। अरब सागरको किनारमा अवस्थित यो सहर निकै पुरानो हो।

सहरबाट बाहिरिएपछि कोचीको अर्को रूप देखिन थाल्यो। बाटोको छेउछाउमा पुराना घर, चर्च र औपनिवेशिक समयको झल्को दिने संरचना देखिन्थे।

नेपालका पुराना बस्तीभन्दा फरक शैलीका घरहरु। धेरै घर सडकबाट केही पछाडि, वरिपरि हरियाली र खुला ठाउँ। सहरभित्रको सडक केही ठाउँमा साँघुरो भए पनि बाहिरतिर निस्किएपछि सडक खुल्दै गयो।

नरिवलका बोट, अनारसका खेती र विभिन्न किसिमका प्लान्टेसनले बाटोको दुवैतर्फ हरियाली थपिरहेका थिए।

बीचमा साना बजार आए। स्थानीय पसल, जुस पसल र गाउँका बस्तीहरु पार गर्दै हामी अघि बढ्यौँ। कतै सानो खोला, कतै पानीको धार। केही ठाउँमा गाडीले पानी भएको बाटोसमेत पार गर्नुपर्‍यो।

अथिराप्पिल्ली जाने क्रममा सडक निरन्तर बदलिइरह्यो। सहरको सडकपछि गाउँ आयो। गाउँपछि प्लान्टेसन। कतै साना खोलाहरु। कतै बजार। कतै पुराना घर।

नारिवलका बोटहरु सडकको दुवैतर्फ देखिन्थे। केही ठाउँमा खेतीका लागि खुला जमिनको व्यापक प्रयोग गरिएको देखिन्थ्यो। सडकको प्रकृति पनि त्यहीअनुसार बदलिइरहेको थियो। कहिले सीधा बाटो, कहिले तीखा मोड। कहिले बम्पी रोड, कहिले चिल्लो बाटो। टोमाहकलाई यही फरक-फरक सडकमा चलाउनु नै यो टेस्ट ड्राइभको सबैभन्दा रोचक पक्ष थियो।

नेपालमा हामीले अनुभव गर्ने जस्तो भूगोलका केही समानता पनि भेटिन्थे। बम्पी रोड, तीखा मोड, उकालो-ओरालो र केही कच्ची बाटो हुँदै ड्राइभ गर्न पाइयो। यही कारण टेस्ट ड्राइभ केवल गाडी चलाउने कार्यक्रम रहेन। कोचीको भूगोलसँगै गाडी बुझ्ने अवसर बन्यो।

४.७ मिटर लामो एसयूभी, तर साँघुरो बाटोमा पनि सहज भइरहेको अनुभव गर्न पाइयो। तुलनात्मक रूपमा टोमाहक ठूलो आकारको एसयूभी हो। यसको लम्बाइ करिब ४.७ मिटर छ।

त्यसैले कोचीका साँघुरा गल्ली तथा पुराना बस्तीका सडकमा चलाउँदा यसको आकार महसुस हुन्छ। तर यसको टर्निङ रेडियसले भने धेरै समस्या हुन दिएन। तिखा र साँघुरा मोडमा पनि स्टेयरिङ घुमाएर गाडीलाई सहजै निकाल्न सकियो।

सहरभित्रको साँघुरो सडकभन्दा बाहिरी खुला सडकमा भने टोमाहक चलाउँदा अझ सहज र सन्तुलित महसुस भयो।

२३० एमएम ग्राउन्ड क्लियरेन्सको अनुभव

टोमाहक इभीको अर्को बलियो पक्ष यसको उच्च ग्राउन्ड क्लियरेन्स हो। टेस्ट ड्राइभका क्रममा कम्पनीले करिब २३०-२४० एमएम आसपासको ग्राउन्ड क्लियरेन्स उपलब्ध हुने बताएको थियो।

हामीले चलाएको रुटमा यसको वास्तविक उपयोगिता पनि महसुस भयो। बाटोमा रहेका खाल्डाखुल्डी, बम्प र केही असमान सतह पार गर्दा गाडीको तल्लो भाग ठोक्किने चिन्ता खासै भएन। निकुञ्ज क्षेत्रतर्फ केही हल्का अफरोड खण्डमा समेत गाडी चलाउने अवसर मिल्यो। त्यहाँ पनि गाडीको ग्राउन्ड क्लियरेन्स उपयोगी देखियो।

ब्याट्रीको प्लेसमेन्टमा ध्यान

इभीमा ग्राउन्ड क्लियरेन्स मात्र भएर पुग्दैन। ब्याट्री प्याक गाडीको तल्लो भागमा राखिने भएकाले ब्याट्रीको अन्डरबडी प्रोटेक्सन र प्लेसमेन्ट पनि महत्त्वपूर्ण हुन्छ।

टोमाहकमा ब्याट्रीको प्लेसमेन्ट हेर्दा गाडीको तल्लो भाग र ब्याट्री प्याकबीच पर्याप्त क्लियरेन्स राखिएको देखिन्छ।

धेरै इभीमा कागजमा ग्राउन्ड क्लियरेन्स राम्रो भए पनि ब्याट्री प्याक तलतिर धेरै निस्किएको अवस्थामा असमान सडकमा चलाउँदा समस्या आउन सक्छ। टोमाहकमा टेस्ट ड्राइभका क्रममा त्यस्तो समस्या महसुस भएन।

इभीमा स्पेयर टायर नदिने चलन बढिरहेको समयमा टोमाहकमा भने स्पेयर टायर दिइएको छ।

टायरलाई बुट स्पेसको तल्लो भागमा राखिएको छ।

हामीले ७० किलोमिटरभन्दा बढी दूरी चलाउँदा टायरसँग सम्बन्धित कुनै समस्या आएन। तर लामो दूरीको यात्रामा टायर पन्चर वा क्षति भएको अवस्थामा स्पेयर टायर हुनु व्यवहारिक पक्ष हो।

विशेषगरी नेपालजस्तो लामो दूरी र फरक-फरक सडक अवस्थाको देशमा यो सुविधा उपयोगी हुन सक्छ।

२०४ एचपीको पावर : ठूलो एसयूभी भए पनि पावर कम छैन

टोमाहक इभीमा एमजीले एउटै पावरट्रेन विकल्प दिएको छ। यसमा ६९.२ किलोवाटआवर क्षमताको एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ। उक्त ब्याट्रीले अगाडिको एक्सलमा जडान गरिएको सिंगल इलेक्ट्रिक मोटरलाई पावर दिन्छ।

मोटरले २०४ एचपी पावर र ३१० एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार टोमाहक ईभीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ८.२ सेकेन्डमा हासिल गर्न सक्छ।

यसमा फ्रन्ट-ह्विल ड्राइभ प्रणाली दिइएको छ।

भारतमा उपलब्ध केही टाटा र महिन्द्राका विद्युतीय एसयूभीमा रियर-ह्विल ड्राइभ वा अल-ह्विल ड्राइभ तथा तुलनात्मक रूपमा बढी पावरका विकल्प उपलब्ध छन्। त्यसको तुलनामा टोमाहकको ड्राइभट्रेन फरक छ।

फ्रन्ट-ह्विल ड्राइभमा आधारित हुन्डाई क्रेटा इलेक्ट्रिक र किया करेन्स क्लाभिस इभीसँग भने टोमाहकको प्रतिस्पर्धा अझ प्रत्यक्ष देखिन्छ। पावर र टर्कको हिसाबले भने टोमाहकले यी मोडलभन्दा बढी आउटपुट दिन्छ।

टेस्ट ड्राइभका क्रममा हामीले ८० देखि १०० किलोमिटर प्रतिघण्टाको गतिमा समेत गाडी चलाउने अवसर पायौ।

०-१०० किमि/घण्टा ८.२ सेकेन्डमा पुग्ने दाबीअनुसार यसको एक्सेलेरेसन तीव्र नै महसुस हुन्छ।

गाडी ठूलो र एसयूभी भएकाले सुरुमा यसको आकारअनुसार केही भारी महसुस होला भन्ने अपेक्षा थियो। तर एक्सेलेरेटर थिच्दा गाडीले अपेक्षा गरेभन्दा छिटो प्रतिक्रिया दियो। उच्च गतिमा समेत गाडी सुस्त महसुस भएन।

त्यस्तै, तिखा मोड तथा असमान सडकमा चलाउँदा पनि गाडीको बडी रोल अत्यधिक महसुस भएन। ठूलो एसयूभी भएकाले केही मोडमा यसको आकार र तौलको प्रभाव महसुस भए पनि समग्रमा गाडी सन्तुलित नै लाग्यो।

कोचीको गर्मी र टोमाहकको कुल केबिन

कोचीको बाहिरी तापक्रम निकै गर्मी थियो। तर गाडीभित्र एसी चलाउँदा केबिनको तापक्रम भने सहज रहयो। बाहिरको गर्मी र भित्रको क्याबिनबीचको फरक टेस्ट ड्राइभका क्रममा राम्रैसँग महसुस भयो। हामी साँघुरा गल्ली, स्थानीय बजार, साना खोलानाला र प्लान्टेसन क्षेत्र हुँदै अगाडि बढिरहेका थियौ।

बाटोको वरिपरि हरियाली, नारिवलका रूख, गाउँ र खेतीले यात्रालाई अझ रोचक बनाइरहेको थियो।

अथिराप्पिल्लीतर्फको बाटोमा प्राकृतिक दृश्यसँगै विभिन्न किसिमका सडकको अनुभव पनि लिन पाइयो। यही कारण यो टेस्ट ड्राइभ केवल गाडीको स्पेसिफिकेसन परीक्षणभन्दा बढी वास्तविक सडकमा टोमाहक कस्तो लाग्छ भन्ने अनुभवमा केन्द्रित भयो।

नेपालमा पनि यस्तै मिश्रित भूगोल-सहरको साँघुरो सडकदेखि राजमार्ग, उकालो-ओरालो र असमान सडकसम्म-भएकाले कोचीको यो टेस्ट ड्राइभले टोमाहकलाई नेपाली सडकमा कल्पना गर्न केही आधार दिएको छ।

पहिलो दिन दिल्ली हुँदै कोची पुगेको यात्रा र दोस्रो दिन बिहानै सुरु भएको यो ड्राइभपछि एउटा कुरा भने स्पष्ट थियो-कागजमा पढेको टोमाहक र वास्तविक सडकमा चलाएको टोमाहकबीचको अनुभव फरक हुन्छ।

कोची र नेपालबीच भूगोल फरक छ। तर ड्राइभिङका क्रममा केही दृश्यले नेपाल सम्झाइरहेका थिए।

साना बजार, स्थानीय पसल, घुमाउरा सडक, असमान बाटो र गाउँ हुदै जाने सडक। फरक यति थियो-यहा नारिवलका रूख र नयाँ प्लान्टेसनले दृश्य भरिएका थिए।

नेपालमा यही सडकको ठाउँमा पहाड, नदी र उकालो-ओरालो आउँछन्। त्यसैले टोमाहकलाई नेपाली सडकमा कल्पना गर्दा यसको उच्च ग्राउन्ड क्लियरेन्स, ठुलो एसयूभी आकार, टर्निङ रेडियस र ब्याट्रीको प्लेसमेन्ट महत्वपूर्ण बन्न सक्छ।

तर नेपाली बजारका लागि अन्तिम प्रश्न ड्राइभिङ मात्र होइन।

यसको मूल्य कति पर्छ? नेपालको कर संरचनाले यसको मूल्य कहा पुर्‍याउँछ? चार्जिङ पूर्वाधार कस्तो हुन्छ? स्पेयर पार्ट्स कति सस्तो र पहुँचयोग्य हुन्छ? र नेपाली ग्राहकले ६९.२ किलोवाटआवर ब्याट्री भएको यो एसयूभीबाट कस्तो वास्तविक रेन्ज पाउँछन्?

यी प्रश्नको जवाफ ‘टोमाहक’ नेपाल प्रवेश गरेपछि मात्र स्पष्ट हुनेछ।